वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा सहभागी नेतृ ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै आपत्ति जनाएकी छन्। उनले उक्त घटनालाई आफूविरुद्ध गरिएको षडयन्त्रको रूपमा व्याख्या गरेकी छन्।
ज्वाला संग्रौलाको वास्तविक नाम टिका संग्रौला भए पनि उनी पार्टीभित्र तथा सार्वजनिक जीवनमा ‘ज्वाला’ नामबाट बढी परिचित छिन्। उनका अनुसार उम्मेदवारी दर्ता गर्दा उनले आफ्नो नाम “टिका संग्रौला (ज्वाला)” उल्लेख गरेकी थिइन्। तर मतदानका लागि तयार गरिएको मतपत्रमा ‘ज्वाला’ नाम हटाएर केवल ‘टिका संग्रौला’ मात्र राखिएको थियो।
यस विषयमा असन्तुष्टि व्यक्त गर्दै संग्रौलाले प्रतिनिधिहरूले आफूलाई ‘ज्वाला’ नामबाट चिन्ने भएकाले मतपत्रमा उक्त नाम नदेख्दा अन्योलमा परेको बताइन्।
“मलाई सबैले ज्वाला भनेर चिन्नुहुन्छ। मतपत्रमा त्यो नाम नदेख्दा धेरै प्रतिनिधिहरूले मलाई भोट हाल्न नसकेको बताए। पछि म आफैं मतदान गर्न जाँदा पनि मतपत्रमा टिका संग्रौला मात्रै लेखिएको पाएँ। यो नामले धेरैले मलाई चिन्दैनन्। ममाथि सरासर षडयन्त्र भएको छ,” उनले भनिन्।
संग्रौलाले यस विषयमा रास्वपाको निर्वाचन आयोगमा मौखिक गुनासो राखेको बताएकी छन्। तर आयोगका पदाधिकारीहरूले मतपत्रमा उपनाम प्रयोग गर्न नमिल्ने जवाफ दिएको उनको भनाइ छ।
यद्यपि, अन्य केही उम्मेदवारहरूको परिचित नाम वा उपनाम भने मतपत्रमा समावेश गरिएको भन्दै उनले निर्वाचन प्रक्रियामा समान व्यवहार नभएको प्रश्न उठाएकी छन्। उनका अनुसार रञ्जु न्यौपानेको नाम ‘रञ्जु दर्शना’ तथा डिल्लीस्वर कार्कीको नाम ‘रोहन कार्की’ उल्लेख गरिएको छ।
मतपत्रमा आफ्नो परिचित नाम समावेश नगरिएको विषयलाई लिएर संग्रौलाले रास्वपाको निर्वाचन आयोगमा औपचारिक उजुरी दिने तयारी गरिरहेको बताएकी छन्।
यस विषयमा निर्वाचन आयोगको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।