×

वीरगञ्ज । गृहमन्त्री सुधन गुरुङले लागूऔषधको अवैध ओसारपसार तथा दुर्व्यसन नियन्त्रणका लागि औपचारिक कार्यक्रमभन्दा परिणाममुखी अभियान सञ्चालन गरिने बताएका छन्। उनले लागूऔषधको आपूर्ति सञ्जाल (सप्लाई चेन) नै ध्वस्त पार्ने गरी सरकारले आक्रामक रणनीति अघि बढाउने स्पष्ट पारेका छन्।

अन्तर्राष्ट्रिय लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसारविरुद्धको दिवस (जुन २६) का अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा गृहमन्त्री गुरुङले लागूऔषधको समस्या जरैदेखि अन्त्य गर्न प्रहरी प्रशासनलाई स्रोतसम्म पुगेर प्रभावकारी नियन्त्रण अभियान सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिएका हुन्।

उनले सन्देशमा भनेका छन्, “क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट समाजलाई जोगाउन यसको सप्लाई चेन नै तोड्न जरुरी छ। त्यसका लागि प्रहरी प्रशासनलाई जरैसम्म पुगेर नियन्त्रण गर्न सक्रिय हुन निर्देशन दिइएको छ।”

गृहमन्त्री गुरुङले लागूऔषधको अवैध ओसारपसार सामाजिक विकृतिमात्र नभई राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य र अर्थतन्त्रमा गम्भीर असर पार्ने सीमा–पार सङ्गठित अपराधका रूपमा विकसित हुँदै गएको उल्लेख गरेका छन्।

उनका अनुसार विभिन्न अध्ययन तथा प्रतिवेदनहरूले लागूऔषध ओसारपसारको दर निरन्तर बढिरहेको देखाएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने नीति लिएको छ।

गृहमन्त्री गुरुङले लागूऔषध नियन्त्रण सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै स्थानीय समुदाय, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह, नागरिक समाज तथा सञ्चारमाध्यमलाई पनि यस अभियानमा सक्रिय साझेदार बन्न आह्वान गरेका छन्।

उनले लागूऔषधमुक्त समाज निर्माणका लागि सरकारी निकाय, सुरक्षा संयन्त्र, समुदाय र नागरिकबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै प्रभावकारी नियन्त्रण अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Back to top