बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१० स्थित नितनपुर चोकमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको यात्रुवाहक बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटना आइतबार बिहान करिब ११ बजे भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुर, इलाका प्रहरी कार्यालय सिमरा तथा सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। उद्धारपछि घाइतेहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सात जनाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। यस्तै सिराहाका ६२ वर्षीय चिनीलाल श्रेष्ठको छातीमा गम्भीर चोट लागेको छ र उनको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ।
अन्य केही घाइतेले सामान्य उपचारपछि आफ्नै गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालक फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको र दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
प्रहरीले दुर्घटनाग्रस्त बसलाई घटनास्थलबाट हटाएर इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखेको छ। दुर्घटनापछि सडक यातायात भने प्रभावित नभएको र नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ।