काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–११ निवासी २९ वर्षीय सागर गिरीलाई अवैध क्रिप्टो कारोबार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
प्रहरीका अनुसार २०८२ चैत १ गते पक्राउ परेका गिरीमाथि करिब ९० दिन अनुसन्धान गर्दा उनले नेतृत्व गरेको समूहले ४ अर्ब ३३ करोड ७० लाख ८० हजार रुपैयाँ बराबरको अभौतिक मुद्रा (क्रिप्टोकरन्सी) कारोबार गरेको तथ्य फेला परेको छ।
यस प्रकरणमा गिरीसँगै नागार्जुन–८ निवासी प्रमोद धिताल पनि पक्राउ परेका थिए। अदालतले धिताललाई ६ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार अदालतको आदेशपछि गिरीलाई बुधबार कारागार पठाइएको हो।
सरकारी वकिलको कार्यालयले असार १ गते १४ जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको थियो। जसमध्ये १२ जना हाल फरार रहेका छन्। अनुसन्धानका क्रममा गिरीले पछिल्लो तीन वर्षदेखि क्रिप्टो कारोबार गर्दै आएको स्वीकार गरेका छन्।
प्रहरीको अनुसन्धानअनुसार गिरी र उनको समूहले विभिन्न डिजिटल प्लेटफर्ममार्फत अर्बौं रुपैयाँको कारोबार गरेका थिए। अनुसन्धानमा बायनान्स, एमईएक्ससी (MEXC) र ट्रस्ट वालेटमार्फत कारोबार भएको खुलेको छ।
क्रिप्टो कारोबारबाट प्राप्त आम्दानी प्रयोग गरी गिरीले ट्याक्सी तथा स्कोर्पियो खरिद गरी भाडामा सञ्चालन गरेको प्रहरीको दाबी छ। साथै, उनका परिवारको नाममा ‘नर्सरी खाजा घर तथा रेस्टुरेन्ट’ सञ्चालन गरिएको पनि अनुसन्धानमा उल्लेख गरिएको छ।
प्रहरीले गिरीको घरबाट १ करोड १६ लाख रुपैयाँ नगद तथा रकम गन्न प्रयोग हुने ‘क्यास टेलर मेसिन’ समेत बरामद गरेको जनाएको छ। बरामद रकमबारे बयान दिँदै गिरीले बैंक तथा वित्तीय संस्थामाथि भएका आक्रमणपछि आफूले रकम घरमै राख्न थालेको बताएका छन्।
अनुसन्धानका क्रममा सागर गिरी र प्रमोद धितालको खाताबाट मात्रै १ अर्ब ९७ करोड रुपैयाँ बराबरको यूएसडीटी (USDT) कारोबार भएको भेटिएको छ। बाँकी कारोबार अन्य प्रतिवादीहरूको खातामार्फत सञ्चालन भएको प्रहरीको दाबी छ।
यस मुद्दामा रुपन्देही, मोरङ, बाँके, बारा, पर्सा, झापा, काभ्रे, सर्लाही, गुल्मी, नवलपरासी पूर्व, लमजुङलगायत जिल्लाका विभिन्न व्यक्तिलाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि अभौतिक मुद्राको अवैध प्रयोग तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कारबाहीको माग गरिएको छ।
प्रहरीका अनुसार फरार प्रतिवादीहरूको खोजी कार्य जारी रहेको छ भने मुद्दामाथिको थप न्यायिक प्रक्रिया अदालतमा अघि बढिरहेको छ।
सीमावर्ती सहर वीरगञ्ज महानगरपालिका क्षेत्र पनि डिजिटल वित्तीय कारोबारको प्रमुख केन्द्रमध्ये एक मानिने भएकाले सम्बन्धित सुरक्षा निकायहरूले यहाँ हुने शंकास्पद आर्थिक गतिविधिमाथि समेत निगरानी बढाएका छन्। खुला सीमा र डिजिटल माध्यमको पहुँचका कारण अवैध क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रणका लागि वीरगञ्जसहित विभिन्न प्रमुख सहरहरूमा निगरानीलाई थप प्रभावकारी बनाइएको बताइएको छ।