वीरगञ्ज । मधेस प्रदेशका नागरिक यतिबेला चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका छन्। अत्यधिक गर्मीका बीच बारम्बार हुने अघोषित विद्युत् कटौतीले जनजीवन कष्टकर बनेको छ भने नेपाल विद्युत् प्राधिकरणप्रति उपभोक्ताको आक्रोश पनि बढ्दै गएको छ।
जलेश्वर नगरपालिका–२ का जानकी साहले पटक–पटक विद्युत् अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको गुनासो गरे। “बारम्बार लाइन जाँदा दिक्क भइसकेका छौँ। वितरण केन्द्रमा फोन गर्दा प्राविधिक समस्या र मर्मत भइरहेको भन्ने एउटै जवाफ मात्र पाइन्छ,” उनले भने।
मधेसमा हरेक वर्ष गर्मीयाममा यस्तै समस्या दोहोरिने गरेको र नियमित विद्युत् आपूर्ति कहिलेदेखि हुने भन्नेबारे स्पष्ट जानकारी नपाइएको उनको भनाइ छ।
जलेश्वर–३ का राजु पाण्डेले समस्या साँच्चै प्राविधिक हो भने यसको दीर्घकालीन समाधान खोजिनुपर्ने बताए। “नागरिकलाई अन्धकारमा राखेर प्राधिकरण जिम्मेवारीबाट पन्छिन मिल्दैन,” उनले भने।
जलेश्वर–४ का सुरेश झाले विद्युत् कटौतीका कारण घरायसी कामकाज मात्र नभई व्यापार, स्वास्थ्य सेवा र दैनिक जीवनसमेत गम्भीर रूपमा प्रभावित भएको बताए। उनले नियमित मर्मतसम्भार, पूर्वसूचना प्रवाह तथा प्रभावकारी व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरे।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू बढी प्रभावित भएका छन्। पङ्खा, कुलरलगायत विद्युतीय उपकरण सञ्चालन गर्न नपाउँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।
उपभोक्ताको गुनासोबारे जलेश्वर वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशनकुमार सिंहले नागरिकको असन्तुष्टि जायज रहेको स्वीकार गरेका छन्। उनले समस्या समाधानका लागि प्रयास भइरहे पनि स्थानीयस्तरमा केही व्यावहारिक कठिनाइ रहेको बताए।
“रौजामा ट्रान्सफर्मर जडान गर्ने प्रयास भइरहेको छ, तर स्थानीय सहयोग पर्याप्त नपाउँदा काम प्रभावित भएको छ,” सिंहले भने। उनका अनुसार नयाँ ३३ केभी लाइन सञ्चालनमा आएपछि समस्या धेरै हदसम्म समाधान हुनेछ। हाल सडक विस्तारको कामका कारण पनि कतिपय अवस्थामा लाइन काट्नुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे।
उनले अत्यधिक विद्युत् माग र एउटै ३३ केभी स्रोतमा निर्भर रहनुपरेकाले समस्या देखिएको उल्लेख गर्दै अर्को स्रोत थपिएपछि आपूर्ति व्यवस्थापन सहज हुने विश्वास व्यक्त गरे।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा पनि अघोषित विद्युत् कटौती बढेपछि स्थानीयवासी आक्रोशित बनेका छन्।
जनकपुरधाम–८ का रोशन राउतले पूर्वसूचना नदिई लाइन काट्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि जनाए। त्यस्तै, वडा नम्बर १० का निकेश कर्णले बिनासूचना हुने कटौतीका कारण घरमा रहेका विद्युतीय उपकरण बिग्रिने जोखिम बढेको गुनासो गरे।
मधेस प्रदेशमा हाल २३ वटा वितरण केन्द्रमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ। प्रदेशभर अनियमित विद्युत् आपूर्तिबारे गुनासो बढेपछि नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालयले समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाएको जनाएको छ।
प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियैत यादवका अनुसार अत्यधिक गर्मीका कारण ट्रान्सफर्मर तथा अन्य उपकरण तातेर बिग्रने समस्या बढेको छ।
“मौसम प्रतिकूल छ र पुराना संरचनाले बढ्दो लोड धान्न सकिरहेका छैनन्,” यादवले भने। उनका अनुसार समस्या समाधानका लागि करिब ४ अर्ब रुपैयाँको लगानीमा प्रदेशभर ५२५ वटा नयाँ ट्रान्सफर्मर जडान गर्ने परियोजना सुरु भइसकेको छ।
उनले उपभोक्ताका गुनासा सुन्न आफू राति अबेरसम्म कल सेन्टरमा सक्रिय रहने गरेको दाबी गर्दै विगतको तुलनामा सेवा सुधार भइरहेको र आगामी दिनमा थप सुधार हुने अपेक्षा व्यक्त गरे।
करिब ६४ लाख जनसंख्या रहेको मधेस प्रदेशमा विद्युत् सेवाको नियमितता उद्योग, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। नागरिकहरूले तत्काल भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाउन र समस्याको स्थायी समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन्।