वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, महानगर समितिले वीरगञ्जस्थित मासु तथा माछा बजारलाई व्यवस्थित गरी नगरवासीलाई स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउन उच्च अदालत वीरगञ्जले दिएको फैसला तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
मञ्चले जारी गरेको विज्ञप्तिमा मासु तथा माछा बजारको व्यवस्थापन, सरसफाइ र उपभोक्ताको स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा विगत लामो समयदेखि वीरगञ्ज महानगरपालिकालाई पटक–पटक आग्रह तथा अनुरोध गरिए पनि कुनै ठोस पहल नभएको उल्लेख गरिएको छ।
संस्थाका अनुसार सार्वजनिक स्वास्थ्य र उपभोक्ता हितसँग प्रत्यक्ष सम्बन्धित उक्त विषयमा स्थानीय सरकारबाट अपेक्षित चासो नदेखिएपछि करिब चार वर्षअघि उच्च अदालत वीरगञ्जमा रिट दायर गरिएको थियो। सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले आवश्यक व्यवस्थापन तथा सुधारका लागि आदेश जारी गरेको थियो।
तर अदालतको फैसला कार्यान्वयनका लागि बारम्बार ध्यानाकर्षण गराउँदा पनि महानगरपालिकाले आवश्यक कदम नचालेको र चार वर्ष बितिसक्दा समेत आदेश कार्यान्वयन नभएको भन्दै मञ्चले दुःख व्यक्त गरेको छ।
मञ्चले यो विषय सार्वजनिक सरोकार र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण मुद्दा भएकाले नागरिक समाज, विद्वत् वर्ग तथा सम्पूर्ण महानगरवासीलाई जानकारी गराउने उद्देश्यले अदालतको फैसला सार्वजनिक गरिएको जनाएको छ।
विज्ञप्तिमा हालको परिस्थितिमा वीरगञ्ज महानगरपालिकाले जिम्मेवार ढंगले अदालतको आदेश कार्यान्वयन गरी मासु तथा माछा बजारलाई व्यवस्थित बनाउन पहल गर्ने अपेक्षा व्यक्त गरिएको छ।
मञ्चले बजार व्यवस्थापन सुधार, नियमित सरसफाइ, खाद्य गुणस्तर नियन्त्रण तथा प्रभावकारी अनुगमन प्रणाली लागू गरी नगरवासीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्थानीय सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ। साथै, यस अभियानमा सम्बन्धित निकाय, नागरिक समाज, व्यवसायी तथा जनप्रतिनिधिहरूलाई सहकार्य गर्न अनुरोध गरिएको छ।
उपभोक्ता हित संरक्षण मञ्चले अदालतको आदेश पूर्ण रूपमा कार्यान्वयन नभएसम्म उपभोक्ता अधिकार संरक्षणका लागि कानुनी तथा जनचेतनामूलक गतिविधि निरन्तर जारी राख्ने चेतावनीसमेत दिएको छ।