×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३, श्रीपुरस्थित जीएचपी स्कुलले पाँचौं सिख गुरु श्री गुरु अर्जुन देव जीको शहीदी दिवस श्रद्धापूर्वक मनाएको छ। शहीदी दिवसको अवसरमा स्कुल अगाडि रहेको मुख्य सडक क्षेत्रमा जलपान वितरण कार्यक्रम आयोजना गर्दै सत्य, सेवा, त्याग र मानवताको सन्देश प्रवाह गरिएको हो।

“सबै मानव एक हुन्, प्रेम र सेवाको मार्गमा अघि बढौं” भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले गुरु अर्जुन देव जीले मानवता, सहिष्णुता, त्याग तथा निःस्वार्थ सेवाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँका आदर्शहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए।

कार्यक्रममा जीएचपी स्कुलकी संस्थापक प्रधानाध्यापक रोमी कौरले समाजमा प्रेम, सद्भाव र सेवाको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले शहीदी दिवसका अवसरमा सञ्चालन गरिने सामाजिक तथा सेवामूलक गतिविधिले सकारात्मक सोच, हौसला र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजक गुरुद्वारा प्रबन्धक समितिले श्री गुरु अर्जुन देव जीको जीवन, दर्शन र आदर्शबाट प्रेरणा लिएर सत्य, सेवा, त्याग तथा मानवताको मार्गमा अघि बढ्न सबैमा आग्रह गरेको छ। समितिका अनुसार शहीदी दिवसको अवसरमा स्कुल अगाडि रहेको मुख्य सडक क्षेत्रमा जलपान वितरण कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा मानव सेवाको भावनालाई थप सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

Back to top