वीरगञ्ज । मधेश प्रदेशको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित गहवा माई मन्दिरमा आगामी असार ३२ गते भव्य रथ यात्रा आयोजना गरिने भएको छ। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको रथ यात्राको तयारी तीव्र पारिएको समितिले जनाएको छ।
समितिका उपाध्यक्ष देवानन्द कलवारका अनुसार यस वर्षको रथ यात्रालाई विगतका वर्षहरूको तुलनामा अझ भव्य, व्यवस्थित र आकर्षक बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू समावेश गरिएको छ। रथ यात्रासँगै श्रद्धालु भक्तजनहरूका लागि परम्पराअनुसार छपन्न भोग अर्पण तथा महाप्रसाद भण्डाराको समेत व्यवस्था गरिनेछ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको प्रतीकका रूपमा आयोजना हुँदै आएको रथ यात्रामा हजारौं श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विशेषगरी गहवा माईको दर्शन तथा पूजाआराधनाका लागि वीरगञ्जसहित पर्सा, बारा, रौतहट तथा छिमेकी भारतीय क्षेत्रबाट समेत भक्तजनहरू सहभागी हुने परम्परा रहँदै आएको छ।
आयोजकका अनुसार रथ यात्रालाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी मधेशको सांस्कृतिक पहिचान तथा पर्यटन प्रवर्द्धनसँग जोड्ने प्रयास गरिएको छ। सोही उद्देश्यअनुसार बाजागाजा, विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकी, पारम्परिक नृत्य, कलाकृति प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछन्।
वीरगञ्जको प्राचीन धार्मिक सम्पदामध्ये एक मानिने गहवा माई मन्दिरमा हरेक वर्ष आयोजना हुने रथ यात्राले धार्मिक आस्थासँगै सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विश्वास गरिएको छ।
उपाध्यक्ष कलवारले यस वर्ष रथ यात्रामा श्रद्धालु तथा सहभागीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण भक्तजन, धार्मिक संघसंस्था तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गर्नुभयो।
मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित समिति अघि बढिरहेको बताउँदै उहाँले रथ यात्रालाई त्यस अभियानको महत्वपूर्ण कडीका रूपमा लिइएको उल्लेख गर्नुभयो।