वीरगञ्ज । सेन्टर फर सोसल चेन्ज (सामाजिक परिवर्तन केन्द्र) को आयोजनामा कलैयास्थित बरेवा दरबार होटलमा आयोजित ‘नेपालमा गुणस्तरीय शासनका लागि साझेदारीलाई प्रवर्द्धन गर्दै’ विषयक प्रादेशिक संवाद कार्यक्रममा उपकुलपति प्रा. डा. दीपक शाक्य स्रोत व्यक्तिका रूपमा सहभागी भएका छन्।
कार्यक्रममा गुणस्तरीय सुशासनको प्रवर्द्धन, सरोकारवाला निकायबीचको प्रभावकारी साझेदारी, नागरिक सहभागिता तथा सार्वजनिक सेवा प्रवाहलाई थप उत्तरदायी र प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल गरिएको आयोजकले जनाएको छ।
प्रा. डा. शाक्यले सामाजिक सञ्जालमार्फत आफ्नो सहभागिताबारे जानकारी दिँदै उक्त महत्वपूर्ण संवाद कार्यक्रममा स्रोत व्यक्तिका रूपमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका छन्। उनले सुशासन, सहकार्य र समन्वयमा आधारित यस्ता संवादले नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
आयोजकका अनुसार यस्ता प्रादेशिक संवाद कार्यक्रमले सुशासनको संस्थागत विकास, बहुपक्षीय सहकार्यको विस्तार तथा नीति र व्यवहारबीचको समन्वयलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।