सांकेतिक तस्वीर
वीरगञ्ज । पर्सा जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी भएका वीरगञ्ज महानगरपालिका–३ निवासी ‘अब्बु’ भनेर चिनिने महमद अयुब हुसेनलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले हुसेनलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई सोही दिन पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार हुसेनविरुद्ध अपराधिक उपद्रवसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। प्रारम्भिक जानकारीअनुसार गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा वीरगञ्जमा भएको निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाटको घटनासँग सम्बन्धित आरोपको सन्दर्भमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरी नायब उपरीक्षक बस्नेतले भने, “जेनजी आन्दोलनका क्रममा भएको घटनासँग सम्बन्धित आरोपमा उनीविरुद्ध अदालतबाट अपराधिक उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी भएको हुन सक्छ। यद्यपि पक्राउ पुर्जी जारी हुनुको यकिन कारणबारे विस्तृत विवरण तत्काल प्राप्त भएको छैन।”
प्रहरीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ। अदालतबाट औपचारिक रूपमा आरोप पुष्टि नभएसम्म सम्बन्धित व्यक्तिलाई कानुनी रूपमा दोषी ठहर गरिएको मानिँदैन।