वीरगञ्ज । ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा अध्ययनरत पर्साको वीरगञ्ज महानगरपालिका–२२ निवासी १८ वर्षीय विद्यार्थी आर्यन सिंहको मृत्यु भएको छ।
प्राप्त जानकारीअनुसार प्लस टुमा अध्ययनरत सिंह मंगलबार बिहान कलेज परिसरमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि सुमेरु अस्पताल लगिएको भए पनि उपचारकै क्रममा साँझ करिब ७ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
घटनास्थलबाट एक हस्तलिखित नोट फेला परेको प्रारम्भिक जानकारी प्राप्त भए पनि त्यसबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। सम्बन्धित निकायले घटनाको कारण र परिस्थितिबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
घटनापछि विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायमा शोकको वातावरण छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाएको छ।