वीरगञ्ज । मानव सेवाको पवित्र भावनासहित वीरगञ्जको मेनरोड–आदर्शनगर क्षेत्रमा प्रत्येक शनिबार सञ्चालन हुँदै आएको सद्भाव साप्ताहिक भोजन सेवा आज बड मंगलबारको अवसरमा विशेष रूपमा सम्पन्न गरिएको छ। वीरगञ्ज–६ स्थित महावीर मन्दिर परिसरमा आयोजित कार्यक्रममा सयौं श्रद्धालु तथा सर्वसाधारणलाई निःशुल्क भोजन र चिसो शर्बत वितरण गरिएको हो।
कार्यक्रमका संयोजक रमेशजीका अनुसार सद्भाव सेवा विगत ३८६ हप्तादेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ, जुन सामाजिक सेवाको एक अनुकरणीय अभियानका रूपमा स्थापित हुँदै गएको छ। उनले विशेष चाडपर्व तथा अवसरहरूमा यस्ता कार्यक्रम थप विशेष रूपमा आयोजना गरिने जानकारी दिए।
आजको कार्यक्रममा करिब ४०० जनालाई स्वादिष्ट भोजन गराइएको थियो भने झण्डै १ हजार जनालाई चिसो शर्बत वितरण गरिएको आयोजकले जनाएको छ। भोजनमा भात, दाल, पनिर, परवर, आलु, लौका, सोयाबिन मिसाइएको मिक्स तरकारी तथा सलाद परोसिएको थियो।
कार्यक्रममा सहयोगी दाता, स्थानीय समाजसेवी, महिला, युवा स्वयंसेवक तथा सामाजिक अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले सडकमा आवतजावत गर्ने यात्रु, पर्यटक, मोटरसाइकल चालक, ई–रिक्सा चालक, रिक्सा चालक, साइकल चालक तथा महावीर मन्दिरमा दर्शन गर्न आएका श्रद्धालुहरूलाई सम्मानपूर्वक आमन्त्रण गरी भोजन तथा चिसो शर्बत ग्रहण गराएका थिए।
सहभागीहरूले मानव सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको उल्लेख गर्दै यस्ता अभियानले समाजमा आपसी प्रेम, सद्भाव, सहकार्य र सहयोगको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
स्थानीय बासिन्दाहरूले लगातार ३८६ हप्तासम्म निरन्तर भोजन सेवा सञ्चालन गर्नु ठूलो सामाजिक योगदान भएको उल्लेख गर्दै यस अभियानले आवश्यकतामा परेका व्यक्तिहरूका लागि आशा, सहारा र मानवीय संवेदनाको सशक्त उदाहरण प्रस्तुत गरेको बताएका छन्।