×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिएकी छन्।

कारको झ्यालबाट शरीर बाहिर निकालेर यात्रा गरिरहेको दृश्य समेटिएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिनुका साथै त्यसबारे विभिन्न टिप्पणी र आलोचना हुन थालेपछि सांसद भट्टराईले मंगलबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

उनले उक्त भिडियो हालको नभई धेरै पहिले व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो भएको स्पष्ट पारेकी छन्। साथै, भिडियो आफ्नो वर्तमान सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिअघि निजी समयमा खिचिएको भन्दै त्यसलाई हालको सन्दर्भसँग जोडेर व्याख्या नगर्न आग्रह गरेकी छन्।

सांसद भट्टराईले आफ्नो स्पष्टीकरणमार्फत सार्वजनिक पदमा रहनुअघि र पछिको अवस्थाबीच भिन्नता रहेको उल्लेख गर्दै भिडियोलाई वर्तमान जिम्मेवारीसँग जोडेर गरिएको टिप्पणी तथ्यपरक नभएको संकेत गरेकी छन्।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसलाई लिएर विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् भने सांसद भट्टराईको स्पष्टीकरणपछि यस विषयमा थप चर्चा भइरहेको छ।

Back to top