एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । संघीय सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयले नेपाल चामल, तेल, दाल उत्पादन संघ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सम्बन्धित निकायलाई सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको हो।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रिपरिषद् बैठकले गत चैत २४ गते १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा निर्धारण गरेको थियो।
कृषि, वन तथा वातावरण मन्त्रालयले उक्त समर्थन मूल्यको कार्यान्वयनबाट किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्दै सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहकार्य गर्न अनुरोध गरेको छ।
सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा लागू भएमा किसानको हित संरक्षण हुनुका साथै कृषि उत्पादन र बजार व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।