वीरगञ्ज । वीरगञ्ज ड्राइपोर्ट सडकखण्डअन्तर्गत वीरगञ्ज महानगरपालिका–२१ मा सोमबार भएको सवारी दुर्घटनापछि उपचार शुल्कलाई लिएर निजी अस्पताल र घाइते पक्षबीच विवाद उत्पन्न भएको छ। सामान्य चोटपटक लागेका घाइतेहरूको उपचारका नाममा लाखौँ रुपैयाँको बिल बनाइएको भन्दै आफन्त र स्थानीयले विरोध जनाएपछि अन्ततः रकम घटाएर सहमति गरिएको छ।
प्रहरी चौकी परवानीपुरका अनुसार मधेश प्रदेश ०३–५१–००२ स ४३५७ नम्बरको हलुका मालवाहक लोडर परवानीपुर चौकीबाट करिब पाँच सय मिटर पश्चिम अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा चालकसहित १० जना सामान्य घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार क्षमताभन्दा बढी यात्रु बोकेको र तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।
घाइतेहरूमा पोखरिया नगरपालिका–७ का रामजी दास, ४८ वर्षीय लंगटु सहनी, विन्दवासिनी गाउँपालिका–५ का ५० वर्षीय सुरेन्द्र मुखिया, करिमन मुखिया, बिगा सहनी, मोतीलाल मुखिया र दीपक मुखियालगायत रहेका छन्। उनीहरूलाई प्रहरी चौकी परवानीपुरको समन्वयमा एम्बुलेन्समार्फत वीरगञ्ज–१४ बहुअरीस्थित स्पर्श मल्टिस्पेसलिटी अस्पताल लगिएको थियो।
घाइते पक्षका अनुसार उनीहरूले सरकारी अस्पताल लैजान आग्रह गरे पनि एम्बुलेन्सले सिधै निजी अस्पताल पुर्याएको थियो। उपचारपछि सामान्य चोटपटक लागेका बिरामीहरूको उपचारका लागि करिब २ लाख २० हजार रुपैयाँभन्दा बढीको बिल तयार गरिएपछि विवाद सुरु भएको हो।
पीडितहरूको दाबीअनुसार किशोरी सहनीलाई सामान्य उपचारका लागि २० हजार ९ सय रुपैयाँ, प्रेम सहनीलाई दुई बोतल स्लाइन, दुईवटा सुई र दुई एक्स–रेको २३ हजार ९ सय रुपैयाँ तथा सुरेन्द्र मुखियालाई सामान्य चोटको उपचारमा २५ हजार रुपैयाँ बराबरको बिल दिइएको थियो। लंगटु सहनीले आफूलाई स्लाइनसमेत नचढाइएको दाबी गर्दै ४५ हजार रुपैयाँको बिल थमाइएको बताए भने बिगा सहनी र दीपक सहनीले पनि सामान्य उपचारमा अस्वाभाविक शुल्क लिइएको आरोप लगाएका छन्।
विवाद चर्किएपछि घाइतेका आफन्त र स्थानीयले अस्पताल प्रशासनसँग छलफल गरेका थिए। त्यसपछि अस्पताल प्रशासनले तयार भएको करिब २ लाख ८० हजार रुपैयाँको बिलमा छुट दिई अन्ततः ६५ हजार रुपैयाँमा सहमति भएको जनाएको छ।
अस्पताल प्रशासन शाखाका रूपक पटेलले अस्पतालले कसैलाई पनि ठगी नगरेको दाबी गर्दै आर्थिक अवस्था कमजोर भएका बिरामीलाई आन्तरिक निर्णयका आधारमा छुट दिइएको बताए। उनले अस्पतालले गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको र उपचारमा कुनै लापरबाही नगरेको पनि दाबी गरे।
यता, घाइते पक्षका सञ्जीव मिश्राले भने अस्पतालले गरिब तथा असहाय बिरामीमाथि अनावश्यक आर्थिक भार थोपर्ने गरेको आरोप लगाए। उनले एम्बुलेन्स र निजी अस्पतालबीचको समन्वयका कारण बिरामीहरू समस्यामा पर्ने गरेको दाबी गर्दै सम्बन्धित निकायले यस्ता घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे।
घटनाले दुर्घटनापछि बिरामीलाई कहाँ लैजाने, उपचार शुल्क कसरी निर्धारण गर्ने तथा निजी अस्पताल र एम्बुलेन्स सेवाको पारदर्शितामाथि पुनः प्रश्न उठाएको छ। हालसम्म सम्बन्धित नियामक निकायबाट यस विषयमा आधिकारिक धारणा सार्वजनिक भएको छैन।