हैदराबाद। भारतको तेलंगाना राज्यमा एक सम्पन्न परिवारको घरबाट करिब १२ करोड भारतीय रुपैयाँ बराबरको सुन–चाँदी र नगद रकम चोरी गरी नेपालतर्फ भाग्दै गरेका तीन नेपाली नागरिक उत्तर प्रदेशको रामपुर जिल्लामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पति कमल, पत्नी विमला र सालि कल्पना रहेको भारतीय प्रहरीले जनाएको छ। उनीहरूको थर तथा नेपालको स्थायी ठेगाना भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
कामदारको भेषमा विश्वास जितेर चोरी
यो घटना तेलंगानाको साइबराबाद कमिश्नरेटअन्तर्गत गाचीबाउली क्षेत्रको एक घरमा भएको हो। उक्त तीनै जना त्यस घरमा कामदारका रूपमा काम गर्दै आएका थिए। शुरुवाती दिनहरूमा उनीहरूको व्यवहार सामान्य र विश्वासिलो देखिएकाले घरधनी परिवारले पूर्ण भरोसा गरेका थिए।
तर क्रमशः उनीहरूले घरको दैनिक गतिविधि, आवतजावत र सुरक्षा अवस्थाबारे सूक्ष्म अध्ययन गर्दै गए। अन्ततः घरधनी परिवार बाहिर गएको मौका छोपी ७ किलो सुन, १ किलो चाँदी र करिब २५ हजार भारतीय रुपैयाँ नगद चोरी गरी फरार भएको आरोप उनीहरूमाथि लगाइएको छ।
दुई राज्यको संयुक्त अपरेशनमा पक्राउ
चोरीको सूचना पाएलगत्तै तेलंगाना र उत्तर प्रदेश प्रहरीले संयुक्त अपरेशन सञ्चालन गर्यो। नेपाल–भारत सीमातर्फ भाग्दै गरेको अवस्थामा रामपुरमा चेकिङका क्रममा तीनैलाई नियन्त्रणमा लिइएको रामपुर प्रहरी प्रमुख सोमेंद्र मीणाले जानकारी दिए। पक्राउपछिको खानतलासीमा चोरी गरिएको सम्पूर्ण सामान बरामद भएको प्रहरीले बताएको छ।
नेपाल प्रहरीसँग पनि समन्वय हुने
रामपुर प्रहरी प्रमुख मीणाका अनुसार अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धान अझै जारी छ। साथै पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि खुलाउन नेपाल प्रहरीसँग पनि समन्वय गरिने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।