वीरगञ्ज । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले बुधवार एकै पटक ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ ।
सार्वजनिक सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका इकाइमा कार्यरत आधा दर्जन प्रहरी निरीक्षकसहित प्रदेश कार्यालय वीरगञ्जमा कार्यरत तीन जनाको पनि सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत बैङ्किङ कसुर अनुसन्धान शाखा, लाजिम्पाटमा खटाइएको छ ।
अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा लामो समयदेखि कार्यरत प्रहरी निरीक्षक शैलेन्द्रकुमार खड्काको इलाका प्रहरी कार्यालय धनौरा ढोडरी बर्दियामा सरुवा भएको छ ।
त्यसैगरी शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत प्रहरी निरीक्षक रवीन्द्र अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा पठाइएको छ भने इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीको बागमती प्रदेश प्रहरी गण हेटौँडा (मकवानपुर) मा सरुवा गरिएको छ ।
यसअघि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट काज सरुवामार्फत इलाका प्रहरी कार्यालय सिमरामा खटाइएका प्रहरी निरीक्षक प्रकाश थापाको दरबन्दी यसपटक सोही कार्यालयमा कायम गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई अपराध अनुसन्धान विद्यालय प्रशासन शाखा महाराजगञ्ज काठमाडौँमा सरुवा गरिएको छ । उनको स्थानमा काठमाडौँ उपत्यका प्रहरी कन्ट्रोल रुम समन्वय शाखामा कार्यरत प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ पर्सा ट्राफिक प्रमुखका रूपमा आउने भएका छन् ।
यसैबिच, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जमा कार्यरत तीन जना प्रहरी निरीक्षकहरूको पनि सरुवा गरिएको छ । अनुसन्धान योजना शाखामा कार्यरत प्रहरी निरीक्षक अनुप गुरुङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा पठाइएको छ ।
त्यस्तै, पोलिग्राफ एकाइ वीरगञ्जमा कार्यरत प्रहरी निरीक्षक दीपेन्द्र कुमार यादवको मधेस प्रदेश प्रहरी गण जनकपुरमा सरुवा भएको छ भने कर्मचारी प्रशासन शाखा वीरगञ्जमा कार्यरत प्रहरी निरीक्षक श्यामसुन्दर यादवलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।