×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा जितेन्द्र मिश्राको प्यानल विजयी भएपछि सांसद टेकबहादुर शाक्य निकट समूहमा निराशा र रुवाबासीको वातावरण छाएको छ ।

निर्वाचनमा मिश्राको प्यानलले क्षेत्रीय संयोजकदेखि उपसंयोजकसम्मका पदमा प्रभावशाली जित हासिल गर्‍यो । क्षेत्रीय उपसंयोजक पदमा मिश्रा प्यानलका उम्मेदवार प्रद्युम्न प्रसाद गौतमले ३९ मत प्राप्त गर्दै शाक्य पक्षका उम्मेदवार कृष्णमोहन प्रसाद यादवलाई २० मतको ठूलो अन्तरले पराजित गरे । यादवले जम्मा १९ मत मात्र पाउन सके ।

पार्टीभित्रकै निर्वाचनमा शाक्य समर्थित अधिकांश उम्मेदवार पराजित भएपछि उनको समूहमा गहिरो निराशा देखिएको छ । पार्टीका केही नेता तथा कार्यकर्ताले पुराना र सक्रिय कार्यकर्तालाई बेवास्ता गर्दै नवप्रवेशीहरूलाई प्राथमिकता दिइएकोमा आक्रोश व्यक्त गरेका छन् ।

उपसंयोजक पदमा पराजित यादव जगरनाथपुर गाउँपालिका अध्यक्ष पदका दुई पटकका उम्मेदवार हुन् । २०७४ मा दोस्रो र २०७९ मा तेस्रो भएका उनले आगामी स्थानीय निर्वाचनमा पुनः अध्यक्ष पदको दाबी गर्ने तयारीमा रहेको बताइएको छ । तर पार्टीभित्रकै निर्वाचनमा पराजयपछि उनको राजनीतिक भविष्यमाथि समेत प्रश्नचिह्न लाग्न थालेको छ ।

यस निर्वाचनले रास्वपा पर्सामा संगठन निर्माण, पुराना कार्यकर्ताको भूमिका र नेतृत्व छनोटको विषयलाई थप बहसको केन्द्रमा ल्याएको पार्टी स्रोत बताउँछ । राजनीतिक वृत्तमा यस परिणामलाई पार्टीभित्रको शक्ति सन्तुलनमा आएको नयाँ मोडका रूपमा हेरिएको छ ।

Back to top