×

वीरगञ्ज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले हालै सम्पन्न निर्वाचनमा पराजित भए पनि पार्टीले उठाएका वैचारिक मुद्दाहरू राष्ट्रिय बहसको केन्द्र बन्न सफल भएको निष्कर्ष निकालेको छ। असार २२ गतेदेखि सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन परिणामको गहन आत्मसमीक्षा गरेको छ।

बैठकले पार्टीले उठाएको बहसका केही विन्दुलाई जनभाषामा प्रस्तुत गरेर प्रधानमन्त्री बालेन शाहले जनकपुरमा बोलेको र त्यसबाट अत्यधिक राजनीतिक लाभ उठाएको भन्दै यसलाई आफ्नो वैचारिक विजयका रूपमा व्याख्या गरेको छ। विशेष गरी मधेशी प्रधानमन्त्री हुनुपर्छ भन्ने भाष्य लामो समयदेखि आफूहरूले नै स्थापित गरेको र त्यही एजेन्डाको लाभ रास्वपाले उठाएको पार्टीको दाबी छ।

बैठकले निर्वाचन पराजयपछाडि पाँच मुख्य कारण औँल्याएको छ -पहिलो, मतदाताले तत्कालै परिवर्तनको सम्भावना रास्वपाभित्र देख्नु। स्वाभिमान, पहिचान र परिवर्तनको मत एउटै केन्द्रमा ध्रुवीकृत हुन पुग्यो। दोस्रो, वैचारिक विस्तारको तुलनामा सङ्गठनात्मक संरचना कमजोर रहनु र मौलिक पहिचान जोगाउन नसक्नु। तेस्रो, संघीय मोर्चामा सामेल हुँदा जनतामा पुराना भ्रष्ट पार्टी जस्तै हुन् कि भन्ने नकारात्मक धारणा पर्न जानु। चौथो, पार्टीले अघि सारेको वैचारिक भाषा र जनताको दैनिक बोलीचालीको भाषाबिच पर्याप्त सेतु निर्माण हुन नसक्नु। पाँचौँ, जनसङ्गठन निर्माणमा पर्याप्त ध्यान दिन नसकिनु र डिजिटल मिडियाको प्रयोगमा समेत पार्टी चुक्नु।

बैठकले पार्टी काठमाडौँ केन्द्रित बढी भएको र मधेश क्षेत्रमा पर्याप्त रूपमा पुग्न नसकेको कमजोरी पनि स्वीकार गरेको छ।

कार्यकारिणी समितिले यस परिणामलाई पराजयका रूपमा मात्र बुझ्नु गल्ती हुने स्पष्ट पार्दै थोरै भए पनि वैचारिक विजयकै रूपमा बुझ्नुपर्ने निष्कर्ष निकालेको छ। आगामी दिनमा सङ्गठन विस्तार, जनभाषामा सञ्चार र डिजिटल उपस्थिति बलियो बनाउने दिशामा पार्टीले ध्यान केन्द्रित गर्ने बताएको छ।

Back to top