×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशनबाट हरि पन्त पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा पन्त नेतृत्वको प्यानल विजयी भएको हो।

अधिवेशनको परिणामसँगै पार्टीभित्र गुटबन्दी र संगठन कब्जाको प्रयास भएको आरोप खेप्दै आएका पर्साका सांसद सुशील साह कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य निकट समूहले अपेक्षित सफलता हासिल गर्न नसकेको पन्त पक्षको दाबी छ। उक्त समूहबाट सभापति पदका उम्मेदवार बनेका सांसद सुशील साह कानु पराजित भएपछि उनीहरूको रणनीति असफल भएको भन्दै पन्त पक्षका नेता तथा कार्यकर्ताले प्रतिक्रिया दिएका छन्।

निर्वाचनअघि पार्टीभित्र विभिन्न समूहबीच प्रतिस्पर्धा तीव्र बनेको थियो। निर्वाचन प्रक्रियाका क्रममा दबाब, गुटबन्दी तथा विवाद सिर्जना गर्ने प्रयास भएको आरोपसमेत लाग्दै आएको थियो। यद्यपि अन्ततः मतदाताले संगठन निर्माणमा लामो समयदेखि सक्रिय र निष्ठावान नेतृत्वलाई नै विश्वास व्यक्त गरेको पन्त पक्षको भनाइ छ।

पन्त पक्षका अनुसार अधिवेशनको नतिजाले पार्टीभित्र संगठन, निष्ठा र कार्यकर्ताको योगदानलाई प्राथमिकता दिएको सन्देश प्रवाह गरेको छ। उनीहरूले हुलहुज्जत, दबाब र शक्ति प्रदर्शनको राजनीतिभन्दा लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन भएको बताएका छन्।

रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले अब संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनतामाझ पार्टीको उपस्थितिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। अधिवेशनको नतिजालाई पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा समेत हेरिएको छ।

Back to top