वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाप्रति उनका निकटस्थहरूले आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनीहरूले मेयर सिंहविरुद्ध दर्ता भएको मुद्दा भ्रष्टाचारका कारण नभई छोरीको नागरिकता बनाउने विषयसँग सम्बन्धित रहेको दाबी गरेका छन्। नागरिकता बनाउने प्रक्रियामा मेयर सिंह सेवाग्राहीको भूमिकामा मात्र रहेको र सेवाग्राहीले अख्तियार दुरुपयोग गर्न नसक्ने भएकाले भ्रष्टाचार मुद्दा दर्ता गर्नु कानुनी रूपमा उपयुक्त नभएको उनीहरूको भनाइ छ।
उक्त विषयमा यसअघि नै पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भई न्यायिक प्रक्रिया अगाडि बढिरहेको तथा मेयर सिंह रिहा भइसकेको अवस्थामा सोही विषयलाई लिएर अख्तियारले पुनः मुद्दा दायर गर्नु क्षेत्राधिकार नाघेको कदम भएको दाबी गरिएको छ।
प्रतिक्रियामा नागरिकता सम्बन्धी विषयमा अख्तियारको भूमिका अनुसन्धान र सिफारिससम्म सीमित रहने उल्लेख गर्दै यस प्रकरणमा राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाइएको छ। साथै, यदि नागरिकता सम्बन्धी विषयलाई भ्रष्टाचार मुद्दाको रूपमा अघि बढाइने हो भने विदेशी वा दोहोरो नागरिकता लिएका तथा झुटा विवरण पेश गरी नागरिकता प्राप्त गरेका सबै व्यक्तिमाथि समान रूपमा कारबाही हुनुपर्ने माग गरिएको छ।
उनीहरूले आफूहरू न्यायिक प्रक्रियामा सहभागी हुने र न्यायालयप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्दै अन्तिम सत्य अदालतबाटै स्थापित हुने विश्वास व्यक्त गरेका छन्।
उता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने मेयर सिंहसहित सात जनाविरुद्ध गलत लिखत तयार गरेको, सरकारी कागजात सच्याएको, सरकारी कागजात नोक्सान गरेको तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

