वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत विवरण पेश गरी अर्काकी छोरीलाई आफ्नै छोरी देखाएर नेपाली नागरिकता दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार जन्मदर्तादेखि नागरिकता जारीसम्मको प्रक्रियामा अनियमितता भएको पाइएपछि मुद्दा दर्ता गरिएको हो। यस प्रकरणमा वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय पर्सा तथा गृह मन्त्रालयका केही तत्कालीन कर्मचारीसमेत प्रतिवादी बनाइएका छन्।
मुद्दा दर्तासँगै कानुनी व्यवस्थाअनुसार मेयर सिंह स्वतः निलम्बनमा परेका छन्। अख्तियारले प्रतिवादीहरूले मिलेमतोमा गलत कागजात तयार गरी नागरिकता जारी गर्न सहयोग गरेको तथा तथ्य ढाकछोप गर्न गलत प्रतिवेदनसमेत तयार गरेको आरोप लगाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दायर गरिएको मुद्दामा अख्तियारले कैद र जरिवानाको माग गरेको छ।