कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला स्क्रमितको संख्या ५१५ पुगेको छ भने ९१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अधिकारीहरूले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रोगको फैलावट अझै नियन्त्रणमा आएको छैन र नियन्त्रणका उपाय तुरुन्त प्रभावकारी रूपमा लागू नगरे अवस्था झन् बिग्रिन सक्ने चेतावनी दिइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप तीन जना बिरामी निको भएपछि निको हुनेको संख्या १२ पुगेको छ। हाल ११७ जना शंकास्पद संक्रमित रहेका छन् भने २८३ जना बिरामी आइसोलेसन वा उपचारमा छन्।
धेरैजसो पुष्टि भएका बिरामीहरूमा लक्षण जेठ १ देखि जेठ १० बीच देखिएको पाइएको छ, जसले सम्भावित एउटै स्रोतबाट संक्रमण तीव्र रूपमा फैलिएको सङ्केत गरेको छ। जेठ १२ देखि असार १ बीच पनि नयाँ बिरामीहरूमा लक्षण देखिनु संक्रमण अझ फैलिरहेको प्रमाण भएको बताइएको छ।
स्वास्थ्य अधिकारीहरूले समयमै कडा नियन्त्रण उपाय नअपनाइए संक्रमित संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
रोग नियन्त्रण प्रयासहरू कमजोर सम्पर्क निगरानी, समुदायको असहयोग, उपचार केन्द्रहरूको सीमित क्षमता, संक्रमण रोकथाम सामग्रीको अभाव र बजेट अभावका कारण प्रभावित भएका छन्।तीन प्रभावित प्रान्तमा सम्पर्क निगरानी दर ५०.३ प्रतिशत मात्र रहेको छ, जुन लक्ष्य ९५ प्रतिशतभन्दा धेरै कम हो।
उत्तर किभु क्षेत्रमा परीक्षण सामग्रीको अभावका कारण १९३ परीक्षण नतिजा अझै पर्खाइमा रहेका छन्। हालको प्रकोप बन्डिबुग्यो प्रकारको इबोला भाइरसका कारण भएको हो, जसलाई जेठ १ मा औपचारिक रूपमा घोषणा गरिएको थियो।