×

वीरगञ्ज । भारतमा सञ्चालन भएको विभिन्न परीक्षामा प्रश्नपत्र चुहावट भएको भन्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिवार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा विरोध प्रदर्शन गरेको छ । पार्टीका संस्थापक अभिजित दिपकेसहित हजारौँ समर्थक प्रदर्शनमा सहभागी भएका छन् ।

प्रदर्शनकारीहरूले नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्याङ्कन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताप्रति आपत्ति जनाउँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।

प्रदर्शनका क्रममा ‘धर्मेन्द्र प्रधान इस्तीफा दो’ र ‘हामीले मेक इन इन्डिया माग्यौँ, तपाईँहरूले लिक इन इन्डिया दिनुभयो’ जस्ता नाराहरू लगाइएको थियो ।

अमेरिकाको बोस्टनबाट शनिवार बिहान ७:४५ बजे नयाँ दिल्ली आइपुगेका दिपके विमानस्थलबाट निस्कने क्रममा डा. भीमराव अम्बेडकरसँग सम्बन्धित पुस्तक हातमा बोकेका देखिएका थिए । सोही पुस्तकसहित उनी आन्दोलनस्थल पुगेका थिए र प्रदर्शनलाई सम्बोधन गरेका थिए । सामाजिक सञ्जालमार्फत लोकप्रिय बनेको सीजेपीको यो पहिलो सार्वजनिक सडक प्रदर्शन हो ।

पार्टीले शिक्षा क्षेत्रमा पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्न माग गर्दै आन्दोलन सुरु गरेको जनाएको छ । यद्यपि, सीजेपी हालसम्म औपचारिक रूपमा राजनीतिक दलका रूपमा दर्ता भएको छैन ।

यसैबिच, सामाजिक अभियन्ता तथा शिक्षाविद् सोनम वाङचुक पनि प्रदर्शनमा सहभागी भएका छन् । प्रारम्भिक जानकारीअनुसार उनी आन्दोलनकारीहरूसँगै उपस्थित देखिएका छन्, तर कार्यक्रममा उनले दिएको विस्तृत अभिव्यक्तिबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन । भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शन शान्तिपूर्ण रूपमा जारी रहेको छ ।

Back to top