दक्षिण लेबनानको मघदुशे शहरका बासिन्दाहरूले आफ्नो क्षेत्रमा हिजबुल्लाहका हतियारहरू रहेको भन्ने इजरायली दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।
आइतवार एक सार्वजनिक विज्ञप्ति जारी गर्दै स्थानीय बासिन्दाहरूले मघदुशे एक शान्तिपूर्ण शहर भएको र त्यहाँ कुनैपनि सैन्य गतिविधि नभएको स्पष्ट पारेका हुन्। शहरका बासिन्दाहरूको तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘मघदुशे एक ऐतिहासिक र शान्त शहर हो। हाम्रो एकमात्र हतियार भनेको लेबनान राष्ट्र र यहाँका जनताप्रतिको अटुट विश्वास हो। हामी स्पष्ट पार्न चाहन्छौँ कि यहाँ कुनै पनि प्रकारका गैरकानूनी हतियार वा आधिकारिक निकायको अधिकारलाई चुनौती दिने खालका गतिविधिहरू छैनन्।’
स्थानीयहरूले मघदुशे शहर सधैँ लेबनानी राज्यको कानुनी अधिकार र सार्वभौमिकताको अधीनमा रहेको उल्लेख गर्दै मुलुकको सुरक्षा निकाय र सेनाप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन्। उनीहरूले लेबनानी सरकार र सैन्य नेतृत्वलाई सुरक्षा खतराहरू सम्बोधन गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न थप प्रभावकारी कदम चाल्न समेत आग्रह गरेका छन्।
इजरायलले बेरुतको दक्षिणी उपनगर र दक्षिण लेबनानका विभिन्न क्षेत्रहरूमा सैन्य कारबाही तीव्र पारिरहेका बेला मघदुशेका बासिन्दाहरूको यो प्रतिक्रिया आएको हो। लेबनानी अधिकारीहरूका अनुसार आइतबार भएका इजरायली हवाई र ड्रोन आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्।
सीमा क्षेत्रमा जारी तनाव र दुवै पक्षबाट भइरहेका क्षेप्यास्त्र प्रहारका कारण यस क्षेत्रमा मानवीय संकट र सुरक्षा चुनौती थप जटिल बन्दै गएको छ।