वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन आज (सोमबार) बिहानदेखि सुरु हुँदै छ । प्रतिनिधि नामावली र निर्वाचन प्रक्रियालाई लिएर चर्किएको विवाद तथा झडपका कारण शनिवार स्थगित भएको अधिवेशन काठमाडौँबाट आएका पार्टीका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठको मध्यस्थतामा भएको सहमतिपछि पुनः सञ्चालनमा आउन लागेको हो ।
जिल्ला सभापति हरि पन्तका अनुसार बिहान ८ बजेदेखि खुला तथा बन्द सत्रसहित नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ । अधिवेशनका लागि समय तालिका सार्वजनिक गरिसकिएको छ ।
यसअघि वीरगञ्ज–९ स्थित होटेल गेटवेमा प्रतिनिधि छनोट प्रक्रिया चलिरहेका बेला दुई समूहबिच विवाद चर्किएको थियो । प्रतिनिधि मनोनयन र विभाग गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै एक पक्षले निर्वाचन समितिमा ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा विभाग गठनको माइन्युट, निर्णय विवरण तथा प्रतिनिधि चयनको आधार सार्वजनिक गर्न माग गरिएको थियो ।
निर्वाचन प्रक्रिया केही समय स्थगित गरी पुनः सुरु गरिए पनि विवाद हानाहानमा परिणत भएको थियो । झडपमा महादेवप्रसाद कुर्मी, वीरेन्द्र साह र रन्दिप श्रीवास्तव घाइते भएका थिए । उनीहरूको नारायणी अस्पतालमा उपचार गरिएको थियो । घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो ।
रास्वपा पर्साभित्र पालिका अधिवेशनदेखि नै दुई समूहबिच ध्रुवीकरण देखिँदै आएको छ । एक समूहको नेतृत्व जिल्ला सभापति तथा पर्सा–१ का सांसद हरि पन्तले गर्दै आएका छन् भने अर्को समूहमा पर्सा–२ का सांसद सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्यसहितका नेताहरू सक्रिय छन् । जिल्ला सभापति पदका लागि हरि पन्त र सुशील कुमार कानु दुवैले आ–आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।
कानु पक्षको प्यानलमा रन्दिप श्रीवास्तव (उपसभापति), शिवकुमार साह (सचिव), नीरज साह (सह–सचिव), समिर अन्सारी र महमुद अन्सारी (सदस्य), शशीदेवी थरुनी र आशिका थापा (महिला सदस्य) रहेका छन् ।
त्यस्तै पन्त पक्षको प्यानलमा दिलीप कुर्मी (उपसभापति), सुदेश कुमार प्रजापति (सचिव), कृष्ण पासवान (सह–सचिव), तुलसा अधिकारी, प्रियङ्का पटेल, युवराज पटेल, पूर्णबहादुर सापकोटा र कामोद्या चौधरी (सदस्य) रहेका छन् ।
यसैबिच, रास्वपा पर्साको वीरगञ्ज महानगर समितिले अधिवेशनपछिको पुनर्गठन प्रक्रिया नटुंगिएसम्मका लागि मातहतका सम्पूर्ण विभाग तथा उपसमितिहरू विघटन गरेको घोषणा गरेको छ । महानगर सभापति दिपराज पटेलद्वारा जारी सूचनामा नयाँ संरचना गठन नभएसम्म पुराना विभागीय जिम्मेवारी निष्क्रिय रहने उल्लेख गरिएको छ ।
आन्तरिक विवाद सार्वजनिक रूपमा बाहिर आएपछि रास्वपा पर्साको सङ्गठनात्मक एकता र नेतृत्व चयन प्रक्रियामाथि चासो बढेको छ । यद्यपि, पार्टी स्रोतका अनुसार विवाद समाधान भइसकेकाले अधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ ।
आजको अधिवेशनबाट पर्सा जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन हुनेछ ।