×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन आज (सोमबार) बिहानदेखि सुरु हुँदै छ ।

मतदाता (जिल्ला प्रतिनिधि) नामावलीसम्बन्धी विवादका कारण शनिवार स्थगित भएको अधिवेशन काठमाडौँबाट आएका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठको मध्यस्थतामा आइतबार भएको सहमतिपछि पुनः सञ्चालनमा आउन लागेको हो ।

जिल्ला सभापति हरि पन्तका अनुसार आज बिहान ८ बजेदेखि खुला तथा बन्द सत्रसहित नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ । सोहीअनुसार समय तालिका पनि सार्वजनिक गरिएको छ ।

यसअघि वीरगञ्ज–९ स्थित होटेल गेटवेमा आइतबारका लागि तय गरिएको अधिवेशनको निर्वाचन प्रक्रिया शनिवार चलिरहेका बेला प्रतिनिधि छनोटको विषयमा दुई समूहबिच विवाद चर्किएको थियो । विवाद हानाहानमा परिणत भएपछि निर्वाचन समितिले प्रक्रिया स्थगित गरेको थियो ।

झडपमा महादेवप्रसाद कुर्मी, वीरेन्द्र साह र रन्दिप श्रीवास्तव घाइते भएका थिए । घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले लाठीचार्ज गरी भीड तितरबितर पारेको थियो ।

प्रतिनिधि चयन प्रक्रियामा असन्तुष्टि जनाउँदै पार्टीका केही नेताहरूले निर्वाचन समितिमा ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा विभाग गठन प्रक्रिया, प्रतिनिधि मनोनयनको आधार र निर्णय विवरण सार्वजनिक गर्न माग गरिएको थियो ।

रास्वपा पर्साभित्र पालिका अधिवेशनदेखि नै दुई समूहबिच विवाद रहँदै आएको छ । एक समूहको नेतृत्व जिल्ला सभापति तथा पर्सा–१ का सांसद हरि पन्तले गर्दै आएका छन् भने अर्को समूहमा सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्यसहितका नेता सक्रिय छन् । जिल्ला सभापति पदका लागि पन्त र कानु दुवै आकाङ्क्षी देखिएका छन् ।

विवाद समाधान भएसँगै आजदेखि अधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ ।

Back to top