×

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शक्ति राम काभ्रेपलाञ्चोकमा एक युवतीसहित मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सशस्त्र प्रहरी बल नम्बर १५ गण काभ्रेका दरबन्दी रहेका असई राम गत वैशाख १९ गते दुई दिनको बिदा लिएर गणबाट बाहिरिएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए।

बुधबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वन क्षेत्रमा दुई फरक रुखमा झुण्डिएको अवस्थामा एक पुरुष र एक महिलाको शव फेला परेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा मृतक पुरुष असई शक्ति राम र महिला कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शर्मिला चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे पुगेकी थिइन्। त्यसयता दुवैजना सम्पर्कविहीन बनेका थिए। असई रामका परिवारले वैशाख २१ गते खोजतलासका लागि निवेदन दिएका थिए भने शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए।

खोजतलासका क्रममा शर्मिलाको मोबाइल फोनको अन्तिम लोकेसन काभ्रेपलाञ्चोक क्षेत्रमा देखिएको थियो। बुधबार स्थानीयवासीले सामुदायिक वनभित्र दुईवटा रुखमा सडेगलेको अवस्थामा मानव कंकाल झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर दुवै शवको पहिचान गरेको हो।

दुवै जनाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

Back to top