वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बगैंचामा अवस्थित युथ केयर फाउन्डेसन कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको आरोप लागेको छ। स्थानीय स्रोतहरूका अनुसार करिब तीन वर्षदेखि सञ्चालनमा रहेको उक्त संस्थाले आवश्यक अनुमति तथा कागजातबिनै गतिविधि सञ्चालन गर्दै आएको दाबी गरिएको छ।
स्रोतका अनुसार संस्थाका सञ्चालक वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी प्रजवलराज सिंहविरुद्ध मुद्दा दर्ता भएपछि उनी सम्पर्कविहीन रहेको बताइएको छ। यद्यपि, यसबारे प्रहरी वा सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ।
जिल्ला प्रशासन कार्यालय पर्साले विभिन्न समयमा संस्थाका सञ्चालकलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको भए पनि हालसम्म त्यसको पालना नभएको आरोप लगाइएको छ।
त्यसैगरी, युथ केयर फाउन्डेसनको केन्द्रीय कार्यालयले मुर्ली बगैंचास्थित शाखाको सञ्चालन बन्द गर्न सूचना जारी गरेको स्रोतको दाबी छ। तर उक्त शाखाले सो निर्देशन कार्यान्वयन नगरी गतिविधि सञ्चालन गरिरहेको आरोप समेत लगाइएको छ।
हाल संस्थामा करिब ३० जना विद्यार्थी बसोबास तथा अध्ययनरत रहेको बताइएको छ। स्थानीयवासीहरूले संस्थाको कानुनी अवस्था, सञ्चालन अनुमति तथा आवश्यक कागजातबारे सम्बन्धित निकायले छानबिन गरी स्पष्टता ल्याउनुपर्ने माग गरेका छन्।
यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा युथ केयर फाउन्डेसनका सञ्चालकको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।