वीरगञ्ज । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध संस्था सर्कल अफ केयरले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी डिस्पेन्सर हस्तान्तरण गरेको छ।
ट्राफिक प्रहरी कर्मचारी तथा सेवाग्राहीहरूलाई स्वच्छ र सुरक्षित खानेपानीको सहज पहुँच उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ। साथै, यसले कार्यालयको दैनिक कार्यसम्पादनमा समेत सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
एक विशेष कार्यक्रमका बीच ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरू तथा सर्कल अफ केयरका पदाधिकारीहरूको उपस्थितिमा पानी डिस्पेन्सर औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले समुदाय र सेवामूलक संस्थाहरूबीचको सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
सर्कल अफ केयरले सामाजिक सेवाका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिइने जनाएको छ।
संस्थाले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकाससँग सम्बन्धित कार्यक्रममार्फत समाजका विभिन्न वर्गलाई सहयोग पुर्याउने अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।