वीरगञ्ज । वीरगञ्जका युवा समाजसेवी तथा अभियन्ता सन्तोष कुमार सर्राफले श्रीपुर स्कुलका विद्यार्थीलाई वर्षा र घामबाट जोगिन १०० थान छाता वितरण गरेका छन्।
सन्तोष जी इलेक्ट्रोनिक्स’ नामक पसल सञ्चालन गर्दै आएका सर्राफले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका बालबालिकालाई छाता वितरण गरेका हुन्।
कार्यक्रमका क्रममा सर्राफले बालबालिकालाई शिक्षा प्रति प्रोत्साहन गर्न तथा दैनिक जीवनमा सहजता प्रदान गर्न यस्ता सहयोगात्मक कार्य आवश्यक रहेको बताए।
सर्राफले यसअघि पनि शैक्षिक सामग्री, कापी–कलम, मिठाई तथा खाद्यान्न सामग्री वितरण गर्दै आएका छन्। यसपटक भने घाम र वर्षायामलाई लक्षित गर्दै विद्यार्थीहरूलाई छाता वितरण गरिएको हो।
उनले विगतका वर्षहरूमा विभिन्न हिन्दू पर्व तथा धार्मिक अवसरमा समेत आर्थिक रूपमा कमजोर, असहाय तथा निमुखा समुदायलाई लुगा, खाद्यान्न, शैक्षिक सामग्री तथा सहयोग प्रदान गर्दै आएको बताए।
स्थानीयवासीहरूले सर्राफको सामाजिक सेवाभावको प्रशंसा गर्दै यस्ता कार्यले समुदायमा सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिएका छन्। सर्राफले आगामी दिनमा पनि सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।