×

फाइल तस्बिर ।

वीरगञ्ज । सरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा यात्रुले १ सय रुपैयाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको छ ।

यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साबिकमा १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय रुपैयाँ पुर्‍याएको छ ।

स्थल मार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई हवाई मार्गबाट आवतजावत गर्ने सरहको सुविधा दिइएको छैन । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।’

तर, भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याब्लेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत् राखिएको छ ।

यसअघि १५ जेठ २०८२ मा प्रकाशित सूचना अनुसार सीमा नाकामा १ सय रुपैयाँ भन्दा माथिको वस्तु भित्र्याउन नपाउने गरी नियम राखिएको थियो ।उक्त नियम कार्यान्वयन गर्दा केही साता अघि सीमा नाकामा तनाव भएको थियो ।

संसद्मा समेत यो विषयले प्रवेश पाएको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त नियम अघिल्ला सरकारले बनाएको भन्दै यस पटक छुट सीमा बढाउने आश्वासन दिएका थिए ।सरकारले पटक पटक यो नियममा कडाइ गर्न खोजे पनि सफल हुन सकेको छैन ।

Back to top