×

मुम्बई । भारतीय गायक तथा र्‍यापर यो यो हनी सिंहले आफ्नो स्वास्थ्य र निजी जीवनबारे एउटा अचम्मको खुलासा गरेका छन्। एक पोडकास्ट अन्तर्वार्तामा उनले बाइपोलर डिसअर्डर र कडा औषधिको साइड इफेक्टका कारण आफ्नो टाउकोको सबै कपाल झरेर तालु खुइलिएको र अहिले नक्कली कपाल प्रयोग गर्ने गरेको बताएका हुन्। 

मानसिक तनाव र बिरामीको त्यो कठिन समयमा आफू सात वर्षसम्म घरभित्रै थुनिएको र त्यसमध्ये तीन वर्ष त बेडरुमबाट समेत बाहिर ननिस्किएको उनले स्मरण गरे। अहिले उनी यस रोगबाट निको भएर संगीत उद्योगमा कमब्याक गरिसकेका छन्।

दिल्लीमा जन्मिएका ४३ वर्षीय हृदेश सिंह उर्फ यो यो हनी सिंह हालै ‘एबीटक्स’ पोडकास्टमा सहभागी भएका थिए। कुराकानीका क्रममा उनले आफ्नो बिरामी र त्यसको उपचारको असरबारे खुलेर कुरा गरे। लामो समयसम्म भारी मात्रामा कडा औषधि सेवन गर्दा आफ्नो तौल १ सय ५ किलोसम्म पुगेको हनी सिंहले बताए। 

सोही उपचारको साइड इफेक्टले गर्दा टाउकोको कपाल पूर्ण रूपमा झरेको उनले स्वीकार गरे। उनले अहिले टाउकोमा देखिने कपाल असली नभएको र विग लगाएको स्पष्ट पारे। सन् २०१४ मा लागूऔषधको लत छाडे पनि निको हुने यात्रा निकै लामो र कष्टकर भएको उनले बताए।

सन् २०१८ र २०१९ को मुस्किल समयलाई याद गर्दै हनी सिंहले आफूलाई सधैँ मरिसकेको र स्वर्ग-नरकको बिचमा कतै फसेको भ्रम हुने गरेको सुनाए। आमाले खाना दिँदा पनि त्यो आफ्नो अन्तिम खाना हो भन्ने उनलाई लाग्दथ्यो। विगत सात वर्षदेखि एउटै औषधि खाइरहेकाले उनको स्वास्थ्यमा कुनै सुधार आएको थिएन।

त्यसपछि उनले घरबाट बाहिर निस्कने र डाक्टर बदल्ने निर्णय गरे। नयाँ डाक्टरले औषधिको डोज मिलाउनुका साथै केही नयाँ औषधिहरू सुरु गरेपछि मात्र चार हप्तामा उनको अवस्थामा सुधार आयो र उनले मानिसहरूसँग भेटघाट गर्न थाले।

हनी सिंहका अनुसार यस बिरामीको सुरुवात तब भयो, जब उनी आफ्नो करियरको शिखरमा थिए। उनी मुम्बईमा एउटा म्यूजिक रियालिटी शो गरिरहेका थिए र अभिनेता शाहरुख खानसँग अमेरिका टुरमा थिए। शिकागोमा रहँदा उनलाई पहिलो पटक मृत्युको डर लाग्ने र भ्रम हुने जस्ता समस्या देखिएको थियो। डरका कारण उनले आफ्नो आधा टाउको मुन्डन गरेका थिए, जसका कारण मेकर्सले उनलाई टोपी लगाउन सल्लाह दिएका थिए। शाहरुख खानले फोन गर्दा उनले सिधै स्टेजमा भेट्ने बताएका थिए, तर डर यति धेरै थियो कि उनी दुईवटा गीत गाएर बिचमै शो छाडेर हिँडेका थिए।

अमेरिका टुरबाट फर्किएपछि हनी सिंह करिब सात वर्षसम्म आफ्नै घरभित्र बन्द रहे। आफ्ना फ्यानहरूले आफूलाई त्यस्तो अवस्थामा देखून् भन्ने उनी चाहँदैनथे। उनले साथीभाइसँग भेट्न र फोनमा कुरा गर्न समेत बन्द गरेका थिए भने टिभी र इन्टरनेटबाट पनि टाढा रहे। बाइपोलर डिसअर्डरको डर र नराम्रा विचारका कारण उनी तीन वर्षसम्म बेडरुमबाट बाहिर निस्कन सकेनन्। डरको सीमा यतिसम्म थियो कि नुहाउने समयमा समेत उनी बाथरुमको ढोका खुल्लै राख्ने गर्दथे।

सन् २०१० को दशकमा भारतीय पप संगीत उद्योगमा राज गरेका हनी सिंह अहिले पूर्ण रूपमा ठीक भएर कमब्याक गरिसकेका छन्। दुई वर्षअघि सन् २०२४ मा नेटफ्लिक्समा सार्वजनिक भएको उनको डकुमेन्ट्री ‘फेमस’ मा पनि उनले यी संघर्षका दिनहरूको कथा प्रस्तुत गरेका थिए। 

अहिले उनी ‘मखना’ र ‘मिलेनियर’ जस्ता गीतहरू तथा ‘हनी ३.०’ र ‘ग्लोरी’ जस्ता म्युजिक एल्बममार्फत पुनः म्यूजिक चार्ट र फ्यानहरूको मनमा आफ्नो पहिचान बनाउन सफल भइरहेका छन्।

Back to top