नयाँ दिल्ली । बलिउडमा यतिबेला एउटा फिल्म निकै चर्चामा छ, जबकि यसको छायांकनसमेत सुरु भएको छैन। अभिनेता तथा निर्देशक फरहान अख्तरको आगामी फिल्म ‘डन ३’ लाई लिएर बलिउडमा तीव्र बहस भइरहेको छ। फिल्मको मुख्य भूमिकामा रहेका अभिनेता रणवीर सिंहले छायांकन सुरु हुनुअघि नै फिल्म छाडेपछि विवाद चर्किएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीरले छायांकन सुरु हुन तीन साताअघि फिल्मबाट बाहिरिने निर्णय गरेका थिए। यसका कारण आफूलाई करिब ४५ करोड भारतीय रुपैयाँ बराबरको नोक्सानी भएको भन्दै फरहानले रणवीरसँग क्षतिपूर्ति माग गरेका छन्।
तर रणवीरले उक्त रकम तिर्न अस्वीकार गरेपछि विवाद फिल्म एन्ड टेलिभिजन वर्कर्स फेडेरेसन अफ इन्डियासम्म पुगेको बताइएको छ। फेडेरेसनले रणवीरलाई तीन पटकसम्म स्पष्टीकरणका लागि बोलाएको भए पनि उनले कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
विवाद थप जटिल बन्दै गएपछि एफडब्ल्यूआईसीले रणवीरविरुद्ध असहयोगसम्बन्धी निर्देशन जारी गरेको बताइएको छ। उक्त निर्देशनअनुसार विवाद टुंगो नलागेसम्म उद्योगका कामदारहरूले उनीसँग काम नगर्ने जनाइएको छ।
विवाद बढ्दै गएपछि रणवीरले सम्झौताको पहल गरेका छन्। एबीपी न्यूजको रिपोर्टअनुसार उनले फरहान अख्तर र उनकी बहिनी तथा निर्देशक जोया अख्तरलाई भविष्यका फिल्ममा सहकार्य गर्ने प्रस्ताव गरेका थिए।
रिपोर्टका अनुसार रणवीरले फरहान अख्तर र उनका निर्माण साझेदार रितेश सिधवानीलाई आगामी परियोजनामा सँगै काम गर्ने प्रस्ताव राखेका थिए। तर दुवैले उक्त प्रस्ताव अस्वीकार गरेका छन्। यस्तै, रणवीरले जोया अख्तरलाई पनि भविष्यको फिल्ममा सहकार्यको प्रस्ताव गरेको बताइएको छ।
रणवीर सिंहले यसअघि सन् २०१९ मा रिलिज भएको ‘गली ब्वाय’ मा जोया अख्तरसँग काम गरेका थिए। रणवीर सिंह र आलिया भट्ट अभिनीत उक्त फिल्म व्यावसायिक रूपमा सफल भएको थियो र रणवीरको करियरमा पनि महत्त्वपूर्ण उपलब्धि मानिन्छ।
मिडिया रिपोर्टअनुसार जोया अख्तरले अहिलेसम्म यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएकी छैनन्। तर फरहान अख्तरले भने रणवीरको प्रस्तावलाई सिधै अस्वीकार गरेको बताइएको छ।