न्युदिल्ली — जुलाई २०२२ मा जब व्यवसायी तथा इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक अध्यक्ष ललित मोदीसँगको सम्बन्धबारे खुलासा भयो, तब नायिका तथा पूर्व मिस युनिभर्स सुस्मिता सेन विवादमा तानिइन् । धन सम्पत्तिकै लोभमा आफुभन्दा १३ वर्ष जेठा मोदीसँग लागेको भन्दै उनले निकै आलोचना खेप्नु पर्यो ।
दुई ‘एडप्टेड’ छोरीकी अविवाहित आमा सुस्मिताको सम्बन्ध त्यसअघि अभिनेता रणद्वीप हुडासँग २००६ सम्म दुई वर्ष चल्यो भने २०१८ देखि तीन वर्ष मोडल रोमन सलसँग चलेको थियो । त्यसपछि मोदीसँगको सम्बन्धले एकाएक चर्चामा तानिएकी सुस्मिताको उक्त सम्बन्ध पनि फेब्रुअरी २०२५ मा आएर टुंगिएको थियो । त्यस अवधिमा सुस्मितालाई धनाढ्यलाई सम्पत्तिका लागि प्रेमजालमा फसाउने ‘गोल्ड डिगर’ को ट्याग नै लाग्यो ।
सुस्मितासँगको आफ्नो सम्बन्धका बारेमा मोदीले चार वर्षपछि अहिले बल्ल मुख खोलेका छन् । मुख मात्रै खोलेनन्, सुस्मितालाई लाग्दै आएको ‘गोल्ड डिगर’ को धब्बालाई पनि मेटाउने प्रयास गरेका छन् । ‘सुस्मिता सुन्दर, सफल र आफ्नै बलबुँताले बनेकी महिला हुन्’ हालैको एक अन्तर्वार्तामा आफुसँगको बहुप्रचारित सम्बन्धका बारेमा ललित मोदीले भनेका छन्, ‘मैले जाने बुझेका जोकोहीसँग भन्दा धेरै उनीसँग हिरा छ, र त्यो सबै उनले आफ्नै कमाईले आर्जन गरेकी हुन् । यतिसम्म की उनीसँग त डायमन्ड स्टोर्स नै छ ।’