मुम्बई । फिल्म संसार जति चमक धमक देखिन्छ, भित्र त्यति नै सङ्घर्षपूर्ण र पीडादायी छ । यसको उदाहरण हुन् भोजपुरी फिल्मकी अभिनेत्री तथा मोडल मिताली शर्मा । फिल्मी नगरी मुम्बईमा आफ्नो पुरा गर्न सङ्घर्ष गर्दागर्दै असहज परिस्थितिका कारण उनी सडकमा भिख माग्ने अवस्थामा पुगेकी छन् ।
दिल्लीकी स्थायी बासिन्दा मिताली शर्मा ठुला सपना बोकेर मुम्बई प्रवेश गरेकी थिइन् । सुरुवाती दिनहरूमा भोजपुरी फिल्म र मोडलिङ क्षेत्रमा उनले राम्रो पहिचान बनाइन् । धेरै निर्माता तथा निर्देशकहरूले उनलाई एक उदीयमान कलाकारका रूपमा हेर्ने गर्थे । तर, समय सधैँ एकनास रहेन । बिस्तारै उनलाई फिल्म अफरहरू आउन कम हुँदै गए र मुम्बई जस्तो खर्चिलो र प्रतिस्पर्धात्मक सहरमा टिक्न उनलाई धौ–धौ पर्न थाल्यो ।
सञ्चारमाध्यमका अनुसार मुम्बई आएपछि मितालीको आफ्नो परिवारसँगको सम्पर्क बिस्तारै टुट्दै गयो । एकातिर आर्थिक सङ्कट र कामको अभाव, अर्कोतिर परिवारको साथ नहुँदा उनी एक्लोपनको सिकार भइन् । लगातारको असफलता र अस्वीकृति (रिजेक्सन)ले उनको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्यायो ।
मितालीको जीवनको सबैभन्दा पीडादायी क्षण तब सार्वजनिक भयो, जब उनलाई मुम्बईको लोखण्डवाला सडकमा अत्यन्तै दयनीय अवस्थामा भिख मागिरहेको भेटियो । कहिले पर्दामा मुख्य भूमिका निभाउने कलाकारलाई यसरी सडकमा देख्दा मानिसहरू चकित परेका थिए ।
अवस्था असामान्य देखिएपछि मुम्बई प्रहरीले हस्तक्षेप गरी उनलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिने क्रममा मानसिक तनावका कारण उनले प्रहरीबाट बच्ने प्रयास गर्दै केही उग्र व्यवहार समेत देखाएकी थिइन् ।
प्रहरी कार्यालय पुरयाएपछि मितालीले सबैभन्दा पहिले खाना मागेकी थिइन् । उनको दयनीय शारीरिक र मानसिक अवस्था देखेर प्रहरी अधिकारीहरू पनि भावुक भएका थिए । उनलाई तत्कालै आवश्यक स्वास्थ्योपचार प्रदान गरियो । उनको बिग्रँदै गएको मानसिक अवस्थालाई ध्यानमा राख्दै हाल उनलाई एक मानसिक स्वास्थ्य केन्द्रमा भर्ना गरी उपचार प्रक्रिया अघि बढाइएको छ ।
ग्ल्यामर संसारको यो दुःखद घटनाले फिल्म क्षेत्रको अँध्यारो पाटो र कलाकारहरूले भोग्नुपर्ने मानसिक तथा आर्थिक असुरक्षालाई पुनः एक पटक उजागर गरेको छ ।