मुम्बई । निर्देशक फरहान अख्तरको चलचित्र ‘डन ३’ अचानक छाडेपछि फिल्म फेडरेशन अफ वेस्टर्न सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले अभिनेता रणवीर सिंहमाथि प्रतिबन्ध लगाएको छ। यो विवाद नसल्टिएसम्म फेडरेशनसँग आबद्ध प्राविधिक तथा कलाकारहरूले रणवीरसँग काम गर्न पाउने छैनन्।
फेडरेशनको यस कदमपछि बलिउड उद्योगका धेरै जना रणवीरको समर्थनमा उत्रिएका छन्। अभिनेता चंकी पाण्डेले आफू पनि विगतमा यस्तै प्रतिबन्धको शिकार भएको खुलासा गर्दै माफी मागेपछि मात्र त्यो हटेको बताएका छन्। अर्कातर्फ, एफडब्लूआईसीईका मुख्य सल्लाहकार अशोक पण्डितले भने यसलाई प्रतिबन्ध नभई ‘असहयोग’ को निर्णय भएको भन्दै बचाउ गरेका छन्।
रणवीर सिंहको विवादबारे कुरा गर्दै चंकी पाण्डेले सन् १९८७ को एउटा घटना स्मरण गरेका छन्। त्यसबेला चलचित्र उद्योगमा हडताल भएकाले छायाङ्कन गर्ने अनुमति थिएन, तर ठिक त्यही समयमा उनको चलचित्र ‘आग ही आग’ को छायाङ्कन ऊटीमा गरियो। यसबाट आक्रोशित फेडरेसनले चलचित्रमा आबद्ध सबैलाई प्रतिबन्ध लगाएको थियो ।
चंकीका अनुसार, त्यसबेला धर्मेन्द्र र शत्रुघ्न सिन्हाजस्ता ठूला स्टारहरूसँग एकैपटक ३०–४० वटा चलचित्र भएकाले उनीहरूमाथि प्रतिबन्ध लगाउन गाह्रो थियो। तर, उद्योगमा भर्खरै प्रवेश गरेका र पहिलो चलचित्र समेत प्रदर्शन नभएका चंकी पाण्डेलाई भने एक हप्ताका लागि प्रतिबन्ध लगाइयो। पछि उनले माफी मागेपछि मात्र काम गर्ने अनुमति पाएका थिए। चंकीले भने, ‘हाम्रो उद्योग निकै सानो र संवेदनशील छ, मैले यो सब आफैँले भोगेको छु।’
आफ्नो आगामी चलचित्र ‘गभर्नर’ को प्रचारप्रसारका क्रममा अभिनेता मनोज बाजपेयीले पनि यस विषयमा प्रतिक्रिया दिएका छन्। उनले रणवीरमाथि लागेको प्रतिबन्धबारे सोधिएको प्रश्नमा भने, ‘हामीले यस विषयमा सामाजिक सञ्जालमा मात्र पढिरहेका छौँ र हामीसँग विस्तृत जानकारी छैन। एउटा सहकर्मी र यस उद्योगको सदस्य हुनुको नाताले यो मामिला थप नबढाई चाँडै सुल्झियोस् भन्ने मात्र हाम्रो चाहना छ।’
त्यसैगरी, चलचित्र निर्माता सञ्जय गुप्ताले पनि रणवीरमाथि प्रतिबन्ध लगाउने फेडरेसनको निर्णयको कडा आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब एउटा ए-लिस्टर स्टारले सुटिङ गर्छ, तब सेटमा ३०० भन्दा बढी मजदुरले काम पाउँछन्। कसैलाई प्रतिबन्ध लगाउँदा स्टारको भन्दा पनि ती मजदुरहरूको रोजीरोटी खोसिन्छ, जो त्यही काममा निर्भर छन्।’
चौतर्फी आलोचना भएपछि एफडब्लूआईसीईका मुख्य सल्लाहकार अशोक पण्डितले संस्थाको निर्णयबारे स्पष्टीकरण दिएका छन्। मानिसहरूले आदेशको गलत अर्थ निकालेको दाबी गर्दै उनले भने, ‘यो प्रतिबन्ध होइन। हामी कुनै अदालत होइनौँ र मानिसहरूलाई प्रतिबन्ध लगाउन सक्दैनौँ। हामीले केवल असहयोगको सूचना जारी गरेका हौँ। यसको अर्थ हाम्रा ३० वटा क्राफ्टका सदस्यहरूले रणवीरसँग काम गर्ने छैनन्। यो एक ट्रेड युनियनजस्तै हो।’
पछिल्लो समय कलाकारहरूले अचानक चलचित्र छाड्ने गलत प्रवृत्ति बढेकाले यस्तो कदम चाल्नुपरेको उनले बताए।
निर्देशक फरहान अख्तरले सन् २०२३ मा अभिनेता रणवीर सिंहको मुख्य भूमिका रहने गरी ‘डन ३’ को घोषणा गरेका थे। यो सन् २००६ र २०११ मा आएका शाहरुख खान स्टारर ‘डन’ फ्रेन्चाइजीको तेस्रो कडी हो।
घोषणाको समयमा कियारा आडवाणीलाई मुख्य अभिनेत्रीका रूपमा लिइएको भए पनि गर्भावस्था र मातृत्व बिदाका कारण उनले चलचित्र छाडिन्। त्यसपछि कृति सेननलाई लिने चर्चा थियो।
फरहानले आफ्नो होम प्रोडक्सन ‘एक्सेल इन्टरटेनमेन्ट’ को ब्यानरमा यो चलचित्र बनाउनका लागि आफ्नो अर्को चलचित्र ‘जी ले जरा’ लाई समेत पछि सारेका थिए। तर ‘डन ३’ को काममा ढिलाइ भएपछि रणवीर सिंह अर्को चलचित्र ‘धुरन्धर’ मा व्यस्त भए।
सन् २०२५ मा ‘डन ३’ को छायाङ्कन सुरु हुने भनिए पनि रणवीरले अचानक चलचित्र छोड्ने निर्णय गरे। निर्माताहरूका अनुसार रणवीरले चलचित्रको स्क्रिप्टमा हस्तक्षेप गरिरहेका थिए र गालीगलौज तथा हिंस्रक दृश्यहरू थप्न माग गरिरहेका थिए, जसमा निर्माताहरू सहमत भएनन्।
रणवीरले चलचित्र छाडेपछि फरहान अख्तरले प्रोड्युसर्स गिल्डमा उजुरी गर्दै प्री-प्रोडक्सन र सेड्युल परिवर्तनका कारण आफ्नो भारी नोक्सान भएको भन्दै ४५ करोड भारु हर्जाना माग गरे। यसबिचमा आमिर खानले मध्यस्थता गर्ने प्रयास गरे पनि विवाद सुल्झिन सकेन। अन्ततः यो मामला एफडब्लूआईसीईमा पुग्यो।
फेडरेशनले रणवीरलाई तीन पटक नोटिस पठाए पनि उनले यो कानुनी मामिला भएकाले अदालतबाटै सुल्झाउने जवाफ दिए। त्यसपछि गत २५ मेमा पत्रकार सम्मेलन गर्दै फेडरेशनले रणवीरसँग असहयोग गर्ने घोषणा गरेको हो।
रणवीर सिंहको टोलीको भनाइ, ‘सोचविचार गरेरै चुप बसेका हौँ’
रणवीर सिंहका प्रवक्ताले यस विवादबारे संक्षिप्त टिप्पणी गर्दै भनेका छन्, ‘रणवीर सिंह चलचित्र उद्योग र डन फ्रेन्चाइजीसँग जोडिएका हरेक व्यक्तिको सम्मान गर्छन्। डन ३ लाई लिएर हालै जे भयो, त्यसमा उनले सोचविचार गरेरै चुप बस्नु ठिक ठानेका हुन्। काम र आपसी सम्बन्धलाई सधैँ शिष्टता र आपसी सम्मानका साथ अघि बढाउनुपर्छ भन्ने उनको मान्यता छ।’ विभिन्न हल्ला फैलिए पनि रणवीरले सार्वजनिक रूपमा स्पष्टीकरण दिनु आवश्यक नठानेको र उनको ध्यान आगामी प्रोजेक्टहरूमा केन्द्रित रहेको टोलीले जनाएको छ।
के हो एफडब्लूआईसीई?
फिल्म फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) चलचित्र उद्योगका मजदुर र कलाकारहरूको हित रक्षा गर्ने सबैभन्दा ठूलो संस्था हो। सन् १९५६ मा स्थापना भएको यस संस्था अन्तर्गत कलाकार, निर्देशक, प्राविधिक, स्पटब्वाई लगायतका ३४ वटा छुट्टाछुट्टै एसोसिएसनहरू आबद्ध छन्। यसमा करिब ४ देखि ५ लाख सदस्यहरू छन् र बलिउड उद्योगका ९० प्रतिशत मानिसहरू यसैको दायराभित्र पर्छन्।