×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान अन्तर्गत खैरो हिरोइनसहित दुई जना युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक समुन्नत अधिकारी को नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–३१ स्थित सडकखण्डमा ना ३९ प २५३२ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा जाँच गर्ने क्रममा ८ ग्रामभन्दा बढी खैरो हिरोइन बरामद गरेको हो।

प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३२ निवासी राहुल सिंह र जितपुरसिमरा उपमहानगरपालिका–७ निवासी नन्दन गुप्ता रहेका छन्।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top