रौतहट । मुलुकको गृह मन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु रहेको बताउनुभएको छ।
रौतहटको सुरक्षा अवस्था बारे बुझ्न शुक्रवार रौतहटको सदरमुकाम गौरको जिल्ला प्रशासन कार्यालय पुग्नु भएको अर्यालले “यो गैरदलीय र नागरिक सरकार हो , यसले कसैको पक्ष नलिई सबैलाई समान व्यवहार गर्ने बताएका छन् ।
सरकार निर्वाचनको तयारीमा पूर्ण रूपमा केन्द्रित रहेको स्पष्ट पार्दै अर्यालले निर्वाचनका क्रममा हुने कुनै पनि गैरकानुनी कार्य र दण्डहीनतालाई सरकारले प्रश्रय नदिने र कानुन विपरीत काम गर्ने जोकोहीलाई पनि कडा कारबाहीको दायरामा ल्याइने चेतावनी समेत दिएका छन् ।
उहाँले “जसको व्यवहार र नियत सफा छ, उसलाई हामीले सहजकर्ताको रूपमा सहयोग गर्नेछौँ। तर, निर्वाचनमा कसुर गर्नेहरूले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताउनु भयो।
निर्वाचन सर्ने हल्लाका बारेमा प्रष्ट पार्दै गृह मन्त्री अर्यालले “निर्वाचनको मिति तय भइसकेको छ र देश निर्वाचनमय भइसकेको छ। अब यस्ता हल्लाहरूको कुनै सान्दर्भिकता छैन।“ निर्वाचन आयोग र सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको बताउनु भयो।
रौतहटको जिल्ला सुरक्षा समितिले प्रभावकारी रूपमा काम गरिरहेको बताउदै गृहमन्त्री अर्यालले रौतहट प्रशासनको स्थानीय समुदाय र सरोकारवालाहरूसँगको संवाद र सहकार्य उदाहरणीय रहेको बताउनु भयो।
गृहमन्त्री अर्याल संगै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, बलाधिकृत रथी प्रदिप जंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, सह सचिव आनन्द काफले, सशस्त्र प्रहरीका डिआइजी विष्णु भट, उपसचिव रमा आचार्य सहितको टोली आएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए ।