वीरगञ्ज। पर्सागढि नगरपालिका–७ टिकुलियामा नासा युवा क्लबद्वारा आयोजित प्रथम नासा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पर्सागढि युवा स्पोर्ट्स क्लब बडनिहारले जितेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा बडनिहारले बारा राईडर क्लबलाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियनको खिताब सुरक्षित गरेको हो।
निर्धारित समयसम्म दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि उपाधि ट्राइब्रेकरमार्फत निर्णय गरिएको थियो। विजेता टोली पर्सागढि युवा स्पोर्ट्स क्लबलाई नगद रु. ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता बारा राईडर क्लबलाई नगद रु. २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
फाइनल खेलका प्रमुख अतिथि पर्सागढि नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले विजेतालाई पुरस्कार वितरण गर्दै खेलकुद क्षेत्रलाई नगरपालिकाले अभियानकै रूपमा अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले “एक वडा, एक खेल मैदान” योजना अन्तर्गत पर्सागढि नगरभित्र हालसम्म १३ वटा खेल मैदान निर्माण भइसकेको बताए।
कार्यक्रममा पर्सागढि नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साह, वडा अध्यक्ष संकर रायभर, नगर कार्यपालिका सदस्य मोहन महतो, वडा सदस्य जितेन्द्र यादव, समाजसेवी सिकेन्द्र पटेल र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।