×

भारत र न्युजिल्यान्डबीच जारी तीन खेलको एकदिवसीय शृंखलाको दोस्रो खेलमा न्युजिल्यान्ड विजयी भएको छ।

 बुधबार राति सम्पन्न खेलमा न्युजिल्यान्डले भारतलाई ७ विकेटले पराजित गर्दै शृंखला १–१ को बराबरीमा ल्याएको हो। अब अन्तिम एकदिवसीय खेल निर्णायक बन्ने भएको छ।

राजकोटमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रन बनाएको थियो। भारतका लागि केएल राहुलले ११२ रनको अविजित शतकीय इनिङ खेले भने कप्तान शुभमन गिलले ५६ रन जोडे। रोहित शर्माले २४ रन र विराट कोहलीले २३ रन बनाए। अन्य खेलाडीमध्ये रविन्द्र जडेजाले २७ रन तथा नितिश कुमार रेड्डीले २० रनको योगदान दिए।

न्युजिल्यान्डका तर्फबाट क्रिस्टियन क्लार्कले ३ विकेट लिए भने काइल जेमिसन, जाक फाउल्केस, ज्याडिन लेनक्स र मिचेल ब्रासवेलले १–१ विकेट हात पारे।

२८५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको न्युजिल्यान्डले १५ बल बाँकी रहँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले १३१ रनको अविजित शतकीय इनिङ खेले। उनले ११७ बलमा ११ चौका र २ छक्का प्रहार गरे। विल योङले ८७ रन बनाउँदै मिचेलसँग तेस्रो विकेटका लागि १६२ रनको महत्वपूर्ण साझेदारी गरे। ग्लेन फिलिप्स ३२ रनमा अविजित रहे।

भारतका तर्फबाट हर्षित राना, प्रसिद्ध कृष्णा र कुलदीप यादवले १–१ विकेट लिए।

यसअघि शृंखलाको पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो। अन्तिम तथा निर्णायक एकदिवसीय खेल आइतबार इन्दोरमा हुनेछ।

Back to top