×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा विगत केही दिनदेखि जारी सरसफाइकर्मी आन्दोलन तथा फोहरमैला व्यवस्थापनसम्बन्धी विवाद अन्ततः सहमतिमार्फत समाधान भएको छ। महानगरपालिकाको पहलमा भएको बहुपक्षीय वार्तापछि आन्दोलनरत सरसफाइकर्मीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिँदै आजैदेखि नियमित काममा फर्किने निर्णय गरेका छन्।

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रिय समन्वय तथा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहोराको विशेष उपस्थितिमा महानगरको सभाहलमा सम्पन्न सघन छलफलपछि ठेकेदार कम्पनी र सरसफाइकर्मीबीच सहमति जुटेको हो। वार्तामा जनप्रतिनिधि, वडा अध्यक्ष, महानगरका कर्मचारी तथा आन्दोलनरत पक्षका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यवाहक प्रमुख आलमले महानगरको सरसफाइ सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन श्रमिकहरूको जायज मागलाई सम्बोधन गर्दै समाधान खोजिएको बताउनुभयो। उहाँले नगरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने अभियानमा सरसफाइकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको श्रमको सम्मान गर्न महानगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।

महानगरपालिकाका प्रेस सल्लाहकार सदाब हुसैनका अनुसार सहमतिपत्रमा सरसफाइकर्मीहरूको पारिश्रमिक, कार्यसमय, सुरक्षा तथा श्रम अधिकारसँग सम्बन्धित महत्वपूर्ण विषयहरू समेटिएका छन्। सहमतिअनुसार प्रत्येक महिनाको ५ देखि १० गतेभित्र अनिवार्य रूपमा तलब भुक्तानी गरिनेछ भने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित गरिने भएको छ। साथै, ८ घण्टाभन्दा बढी काम गराएमा नियमानुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइने सहमति भएको छ।

त्यसैगरी, कामको क्रममा घाइते हुने श्रमिकहरूको प्राथमिक उपचार खर्च ठेकेदार पक्षले व्यहोर्ने, सरसफाइकर्मीमाथि कुनै पनि प्रकारको अभद्र व्यवहार नगर्ने तथा आवश्यक सुरक्षा सामग्री समयमै उपलब्ध गराउने विषयमा समेत सहमति भएको छ। नागरिकता सम्बन्धी प्राविधिक समस्याका कारण काम गुम्ने अवस्थामा रहेका रैथाने नेपाली सरसफाइकर्मीहरूलाई कामबाट नहटाइने मानवीय निर्णयसमेत सहमतिपत्रमा समावेश गरिएको छ।

सम्झौतापत्रमा ठेकेदार कम्पनी एन.के. इन्टरनेशनल म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक शिवकुमार गुप्ता तथा आन्दोलनरत पक्षका प्रतिनिधिहरू भुवाली मलिक, पिन्टु मलिक, चन्दन मलिक, किसन मलिक, चन्दा देवी, अखिलेश मलिक, विशाल मलिक र किसन मलिक (चालक) ले हस्ताक्षर गरेका छन्।

वार्तापछि सरसफाइकर्मीहरू काममा फर्किएसँगै वीरगञ्ज महानगरभित्र रोकिएको फोहर संकलन तथा व्यवस्थापन कार्य पुनः सुचारु भएको छ। केही दिनदेखि विभिन्न स्थानमा थुप्रिएको फोहर तत्काल व्यवस्थापन गर्न महानगरपालिकाले विशेष सरसफाइ अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।

सरसफाइ सेवा पुनः सञ्चालन भएसँगै महानगरवासीले राहत महसुस गरेका छन्। महानगरपालिकाले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन श्रमिक, ठेकेदार कम्पनी र स्थानीय सरकारबीच नियमित समन्वय, संवाद तथा अनुगमनलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

Back to top