×

वीरगञ्ज । पर्साको विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको विशेष जाँच अभियानका क्रममा करिब २३ लाख ९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा ओसारपसारमा प्रयोग भएका सवारी साधन बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित इनरुवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको करिब ७ लाख ७२ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका कपडा सिरसिया नदी किनारको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारी बरामद गरेको हो। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यसैगरी, सोही दिन इनरुवा र कोनिया नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ लाख ५२ हजार ९०५ रुपैयाँ बराबरको किराना सामान, कस्मेटिक सामग्री, मदिरा, तरकारी, स्याउ तथा ओसारपसारमा प्रयोग भएका एक थान ई–रिक्सा र एक थान साइकल बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

यस्तै, असार १३ गते वीरगञ्ज महानगरपालिका–१६, १७ र २१ अन्तर्गत पर्ने इनरुवा, कोनिया, परवानीपुर तथा अलौ क्षेत्रबाट सीमा सुरक्षा गुल्म वीरगञ्ज र अलौबाट खटिएको संयुक्त टोलीले १० लाख ८४ हजार ४०० रुपैयाँ बराबरको कपडा, मोबाइल टेम्पर्ड ग्लास, किराना सामान, फलफूललगायतका सामग्री तथा ओसारपसारमा प्रयोग भएका एक थान टेम्पो, एक थान मोटरसाइकल र तीन थान साइकल बरामद गरेको थियो। उक्त सामान तथा सवारी साधन असार १४ गते आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार विभिन्न स्थानबाट बरामद भएका अवैध सामान तथा ओसारपसारमा प्रयोग भएका सवारी साधनको कुल अनुमानित मूल्य २३ लाख ९ हजार ३०५ रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र सुरक्षा अभियानलाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो।

Back to top