×

प्रविधि कम्पनी मेटाले क्यानडाको अल्बर्टामा नयाँ डाटा सेन्टर बनाउन सुरु गरेको छ। यो परियोजनामा कम्पनीले १० बिलियन डलर खर्च गर्नेछ।

मेटाका अनुसार, स्टर्जन काउन्टीमा बन्ने यो डाटा सेन्टर १ गिगावाट क्षमताको हुनेछ। यो क्यानडामा मेटाको पहिलो र विश्वभरिको ३३ औं डाटा सेन्टर हो।

कम्पनीले यसलाई एआई सम्बन्धी कामहरूका लागि विशेष रूपमा तयार पार्दैछ। मेटाले अमेरिकामा मात्र एआई पूर्वाधारका लागि ६०० बिलियन डलरभन्दा बढी लगानी गरिसकेको छ।

यो क्यानेडियन परियोजनाले निर्माण क्षेत्रमा हजारौं रोजगारी सिर्जना गर्नेछ। यसले निर्माण सकिएपछि पनि ३०० जनालाई स्थायी रोजगारी दिनेछ। कम्पनीले स्थानीय समुदायलाई आर्थिक सहयोग गर्ने र वातावरण मैत्री रूपमा बिजुली तथा पानी प्रयोग गर्ने बताएको छ।

विगत दुई वर्षमा मेटाले आफ्ना डाटा सेन्टरहरू निकै तीव्र रूपमा विस्तार गरेको छ। कतिपय रिपोर्टका अनुसार मेटाले आफ्नो क्षमताभन्दा बढी डाटा सेन्टर बनाएको छ। त्यसैले कम्पनीले यो अत्यधिक क्षमताबाट पैसा कमाउन क्लाउड इन्फ्रास्ट्रक्चर व्यवसाय सुरु गर्नुपर्ने हुन सक्छ।

मेटाले एआई बजारको सम्भावनालाई आवश्यकताभन्दा बढी अनुमान गरेको चर्चा पनि छ। तर कम्पनीले यी प्रणालीहरूबाट पैसा कमाउन थप एड्भान्स कार्यक्रमहरूमा काम गरिरहेको छ।

सन् २०२६ को पहिलो त्रैमासिक रिपोर्ट अनुसार मेटाले यसै वर्ष विकास कार्यमा थप १२५ बिलियनदेखि १४५ बिलियन डलर लगानी गर्ने अपेक्षा गरेको छ। यो लगानी मुख्य रूपमा एआई पूर्वाधारमा हुनेछ।

एआईको ‘रेस’ जित्नका लागि प्रोसेसिङ पावर सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। मेटाले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्न आफ्ना सम्पूर्ण स्रोतहरू उत्कृष्ट एआई मोडेल बनाउन प्रयोग गरिरहेको छ।

यद्यपि चीनका कतिपय एआई ल्याबहरूले निकै कम स्रोत प्रयोग गरेर पनि यस्तै शक्तिशाली मोडेलहरू बनाइरहेका छन्।

सीएनबीसीको रिपोर्ट अनुसार डीपसिक र जेड.एआई जस्ता चिनियाँ एआई मोडेलहरू अमेरिकी कम्पनीहरू माझ लोकप्रिय हुँदैछन्। यी मोडेलहरूको लागत कम छ तर काम गर्ने क्षमता अमेरिकी मोडेल जत्तिकै छ।

यसले गर्दा अमेरिकी कम्पनीहरूलाई आफ्नो सेवाको मूल्य घटाउन र गुणस्तर बढाउन दबाब परेको छ।

Back to top