×

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ। गएराति भएको खेलमा पाहुना टोली बार्सिलोनाले भिल्लारियललाई २–० गोलले पराजित गरेको हो। यससँगै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल भएको छ।

भिल्लारियलको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हा र लामिन यामलले एक–एक गोल गरे। खेलको सुरुवातमै राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ सकिनुअघि भिल्लारियलका रेनाटो भेइगाले यामलमाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए। 

१० खेलाडीमा सीमित भिल्लारियलविरुद्ध खेलको ६३ औँ मिनेटमा १८ वर्षीय युवा स्टार लामिन यामलले दोस्रो गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे। यो जितसँगै बार्सिलोनाले लिगमा लगातार आठौँ जित दर्ता गरेको छ। उसले चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडमाथि स्पष्ट चार अंकको अग्रता कायम गर्दै सन् २०२५ को सुखद अन्त्य गरेको छ। पराजित भिल्लारियल भने लिगको चौथो स्थानमा झरेको छ। 

Back to top