×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सरसफाइ कर्मचारी र सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीबीच देखिएको विवाद समाधानतर्फ उन्मुख भएको छ। दुवै पक्षबीच भएको छलफलपछि आन्दोलनरत सरसफाइ कर्मचारी काममा फर्किने भएका छन्।

सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीमा कार्यरत कर्मचारीहरूले तलब वृद्धि लगायतका विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका थिए। आन्दोलनका क्रममा उनीहरूले वीरगञ्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल प्रवेशद्वार अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका थिए।

घटनालाई गम्भीर रूपमा लिँदै वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले सरसफाइ व्यवस्थापनको अवस्थाबारे विशेष चासो व्यक्त गर्दै आवश्यक पहल गर्नुभएको थियो। उहाँले सरसफाइ व्यवस्थापनको जिम्मा लिएका ठेकेदार शिव गुप्तालाई आन्दोलनरत कर्मचारीका जायज मागबारे तत्काल छलफल गरी यथाशीघ्र समाधान गर्न निर्देशन दिनुभएको थियो।

कार्यवाहक नगरप्रमुख आलमले नगरवासीले कुनै असुविधा भोग्न नपरोस् र शहरको नियमित सरसफाइ सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र पहल गरिरहेको बताउनुभयो।

उहाँले सम्बन्धित सबै पक्षबीच निरन्तर संवादमार्फत समस्या समाधान गर्ने प्रयास सफल भएको उल्लेख गर्दै सरसफाइ सेवामा कुनै अवरोध आउन नदिने महानगरपालिकाको प्रतिबद्धता दोहोर्याउनुभयो।

महानगरपालिकाका अनुसार सरसफाइ कर्मचारी, ठेकेदार कम्पनी तथा सम्बन्धित पक्षबीच सहमति कायम भएपछि आन्दोलन अन्त्य भएको छ। सहमतिसँगै सरसफाइ कर्मचारी नियमित रूपमा काममा फर्किने भएका छन् भने शहरको सरसफाइ सेवा पनि पूर्ववत् सञ्चालन हुने भएको छ।

Back to top