वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विद्यमान राजनीतिक चुनौतीहरूको सामना गर्दै प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सबै लोकतान्त्रिक तथा वामपन्थी शक्तिबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन्।
राजधानीमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा समाजवादको रूपरेखा तयार पार्नुभन्दा पनि प्रतिगमनकारी शक्तिलाई परास्त गर्नु प्रमुख राजनीतिक दायित्व भएको धारणा व्यक्त गरे। उनले देशका परिवर्तनकारी शक्तिहरू एकताबद्ध भएर साझा उद्देश्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताए।
विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले पछिल्लो समय वामपन्थी आन्दोलनमाथि योजनाबद्ध रूपमा वैचारिक आक्रमण भइरहेको आरोप लगाए। कम्युनिस्ट आन्दोलन र वामपन्थी शक्तिको चरित्र हत्या गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले आफ्नो पार्टीका नीति, सिद्धान्त र कार्यक्रम सदैव जनहितमा केन्द्रित रहेको दाबी गरे।
अध्यक्ष ओलीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद को सिद्धान्तलाई नेकपा (एमाले) ले आत्मसात् गर्दै समयानुकूल परिमार्जनसहित अघि बढाइरहेको बताए। यही वैचारिक आधारमा दक्षिणपन्थी तथा प्रतिगमनकारी शक्तिको सामना गर्दै लोकतान्त्रिक मूल्य, राष्ट्रिय स्वाधीनता र जनहितको संरक्षणका लागि पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक उपलब्धिको रक्षा, राष्ट्रिय हितको संरक्षण तथा राजनीतिक स्थायित्वका लागि सबै परिवर्तनकारी शक्तिबीच सहकार्य र कार्यगत एकता अझ आवश्यक भएको समेत जोड दिए।