×

साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि शनिबार नेपालको एपीएफ र भारतको इष्ट बंगालबीच प्रतिस्पर्धा हुँदैछ। 

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ। समूह चरणमा एपीएफले दुई खेलमा जित र दुईमा बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो। इष्ट बङ्गालले भने तीन खेलमा जीत  हात पारेको थियो। एक खेलमा एपीएफसँग बराबरी गरेको थियो।

​गोलस्कोरिङमा समस्या देखिएको एपीएफ र आक्रामक अग्रपंक्तिबीच हुने फाइनलमा रोमाञ्चक हुने अनुमान गरिएको छ। घरेलु दर्शकको राम्रो साथ पाए पनि एपीएफका लागि उपाधि जित्ने लक्ष्य कठिन बन्न सक्नेछ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ देशका लिग विजेता टोली सहभागी छन्।

एपीएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि आफ्नो टोली तयार र उत्साहित रहेको बताइन्। इष्ट ​बंगालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यलाई पूरा गर्नेगरी खेल्ने बताए।

उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ। बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन्।

Back to top