×

ब्रुनो फर्नान्डेसको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा सोमबार रेलिगेसन क्षेत्रको उल्भरह्याम्पटनविरुद्ध ४–१ को सहज जित दर्ता गरेको छ।

जितसँगै १५ खेलमा २५ अंक जोडेको युनाइटेड छैटौं स्थानमा उक्लिएको छ। पराजित उल्भरह्याम्पटन समान खेलबाट दुई अंकका साथ पुछारमा छ।

मोलिनेयुक्स रंगशालामा पाहुना टोली युनाइटेडलाई जित दिलाउन फर्नान्डेसले दुई तथा ब्रायन एमबेउमो र मेसन माउन्टले एक गोल गरे। उल्भरह्याम्पटनका लागि जिनलरिकनर बेलेगार्डेले गोल फर्काए।

खेलको २५औं मिनेटमा फर्नान्डेसको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा बेलेगार्डेले उल्भरह्याम्पटनका लागि बराबरी गोल फर्काए।

एमबेउमोले ५१औं मिनेटमा गोल गर्दा युनाइटेड २–१ ले अगाडि बढ्यो। त्यसको ११ मिनेटपछि माउन्टले टोलीका लागि तेस्रो गोल गरे।

फर्नान्डेसले ८०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए।

Back to top