×

वीरगञ्ज । नेपालको सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको बिहार राज्यमा राजनीतिक स्थिरता कायम रहने सङ्केत देखिएको छ । हालै सम्पन्न विधानसभा निर्वाचनमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को ऐतिहासिक विजयपछि जनता दल (युनाइटेड) का वरिष्ठ नेता नितिश कुमारलाई दसौँ पटक मुख्यमन्त्री बनाउने निर्णय भएको छ ।

बुधवार दिउँसो पटनाको विधानसभा भवनको केन्द्रीय हलमा बसेको एनडीएको विधान मण्डल दलको बैठकले ७५ वर्षीय नितिश कुमारलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो । निर्णयसँगै नितिश कुमारले राज्यपाल अरिफ मोहम्मद खान समक्ष सरकार गठनको दाबी पेस गर्न राजभवन पुगेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, उनले वर्तमान सरकारको राजीनामा दिई नयाँ गठबन्धनको समर्थन पत्र बुझाएका छन् । शपथ ग्रहण समारोह भोली मङ्सिर ४ गते बिहीबार बिहान ११:३० बजे पटनाको ऐतिहासिक गान्धी मैदानमा हुनेछ । समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्रीहरू राजनाथ सिंह, धर्मेन्द्र प्रधान, चिराग पासवानलगायत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत सहभागी हुने अपेक्षा गरिएको छ ।

एनडीएको निर्णयले बिहारको राजनीतिमा नितिश कुमारको दिगो प्रभावलाई पुनः प्रमाणित गरेको छ । उनले पहिलो पटक सन् २००० मा सात दिन मात्र शासन गरेका थिए । त्यस पश्चात् सन् २००५ मा मुख्यमन्त्री बनेका नितिश विभिन्न गठबन्धनसँग जोडिएर राज्यको नेतृत्व गर्दै आएका छन् । उनी दसौँ कार्यकालका लागि मुख्यमन्त्री वनेसँगै भारतकै सबैभन्दा लामो समयसम्म शासन गर्ने मुख्यमन्त्रीको रूपमा स्थापित हुने छन् ।

कार्तिक २८ गते घोषणा गरिएको बिहार विधानसभा निर्वाचनको मत परिणामले एनडीए गठबन्धनलाई कूल २४३ सिटमध्ये २०२ सिट जिताएको थियो । यसमा भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा बढी ८९ सिट प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो दल बनेको छ । नितिश कुमारको जनता दल (युनाइटेड) ले ८५ सिट जितेको छ भने चिराग पासवानको लोक जनशक्ति पार्टी (राम विलास) ले १९ सिटसहित चौथो स्थानमा रहेको छ । जितन राम माझीको हिन्दुस्तानी अवाम मोर्चा (सेकुलर) ले ५ सिट र उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चाले ४ सिट जितेका छन् ।

यसको विपरीत, कङ्ग्रेस आइ र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित महागठबन्धनले मात्र ३५ सिटमा सीमित रह्यो । आरजेडीले २५ सिट जिते पनि परिणामले विपक्षी गठबन्धनलाई ठूलो धक्का दिएको छ । एनडीएको विजयलाई बिहारमा विकास, सुशासन र सामाजिक न्यायको पक्षमा जनमतको विजयको रूपमा लिइएको छ ।

एनडीएको बुधवारको बैठकअघि जनता दल (युनाइटेड) ले नितिश कुमारलाई आफ्नो संसदीय दलको नेता चयन गरेको थियो । तर, गठबन्धनको मुख्य साझेदार भाजपाले भने सम्राट् चौधरीलाई संसदीय दलको नेता र विजय सिन्हालाई उपनेताको रूपमा चयन गरेको थियो । अन्ततः एनडीएको संयुक्त बैठकमा नितिश कुमारकै नाममा सर्वसम्मति बनेको हो । यसअनुसार, सम्राट् चौधरी र विजय सिन्हा दुई उपमुख्यमन्त्रीको रूपमा शपथ लिनेछन् ।

मन्त्रिपरिषद् विस्तारको विषयमा भने छलफल जारी छ । स्रोतहरूका अनुसार, भाजपा र जेडीयूले क्रमशः ६–७ मन्त्रालय पाउनेछन् भने अन्य साना दलहरू (जस्तै एलजेपी–आरभी, हाम (एस) र आरएलएम) लाई १–३ मन्त्रालय वितरण हुन सक्छ । कूल २० भन्दा बढी मन्त्रीहरूले शपथ लिने अपेक्षा गरिएको छ । यो वितरणमा सभामुख पदको लागि पनि छलफल चलिरहेको छ।  

पटनाको गान्धी मैदानमा हुने शपथ ग्रहणलाई भव्य बनाउन तयारी तीव्र पारिएको छ । मैदानलाई  मङ्सिर १ गतेदेखि नै बन्द गरिएको छ र कडा सुरक्षा व्यवस्था गरिएको छ । शपथ समारोहलाई टेलिभिजन र डिजिटल प्लेटफर्महरूमा लाइभ प्रसारण गरिनेछ ।

नितिश कुमारले आफ्नो नयाँ कार्यकालमा बिहारलाई ‘स्वर्णिम युग’ तर्फ लैजाने वाचा गरेका छन् । उनको वाचाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा पनि आर्थिक र सामाजिक विकासका अवसरहरू बढाउने अपेक्षा गरिएको छ ।

Back to top